प्रश्नपत्र आउट गर्ने ५ जना पक्राउ
धनुषा । धनुषा प्रहरीले एमबिएस प्रथम वर्षको तथ्यांक शास्त्र विषयको प्रश्नपत्र आउट गर्ने ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका–१२ का २१ वर्षीय सोनुकुमार साह, वडा नम्बर ४ का ३१ वर्षीय लीलाराज शिवमन्त्री, वडा नम्बर १२ का २२ वर्षीय लालबाबु मण्डल, सोही वडाका २४ वर्षीय सुजीतकुमार मण्डल र सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका–७ का २० वर्षीय अविनाश महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबिएस प्रथम वर्षको तथ्यांक शास्त्र विषयको प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको ‘फोटोकपी’ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई लालबाबु मण्डलले सञ्चालन गरेको इमेज स्टुडियोमा प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको फोटोकपी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएकाहरू सार्वजनिक शान्तिविरुद्धको मुद्दा शीर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ साउन २८ मंगलबार