दुवाकाेटमा वीर अस्पतालकाे काम अघि बढाइने, ४० कराेड विनियाेजन

भक्तपुर न्यूज

१६ जेठ २०७६ ७:२२

दुवाकाेटमा वीर अस्पतालकाे काम अघि बढाइने, ४० कराेड विनियाेजन

काठमाडाैँ । मुलुककै जेठाे अस्पताल वीर अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको विशिष्टिकृत सेवा सहित विस्तार कार्य सरकारकाे प्राथमिकतामै परेकाे छ । अर्थमन्त्री युवराज खतिवडाद्वारा बुधबार प्रस्तुत आगामी आर्थिक वर्षकाे बजेटमार्फत भक्तपुरकाे दुवाकाेटमा वीर अस्पतालकाे सेवा विस्तार तथा भवन निर्माणका लागि रु ४० कराेड छुट्याइएकाे छ ।

‘वीर अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको विशिष्टिकृत सेवा सहितको उत्कृष्टता केन्द्रको रूपमा विकास गरिनेछ,’ बुधबार संसदमा अर्थमन्त्री खतिवडाले भन्नुभयाे, ‘भक्तपुरको दुवाकोटमा वीर अस्पतालको सेवा विस्तारको लागि आगामी आर्थिक वर्षमा विस्तृत अध्ययन सम्पन्न गरी अत्याधुनिक भवनको निर्माण कार्य अघि बढाउन रु ४० करोड विनियोजन गरेको छु ।’

यसैगरी राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्नका समेत रु ४० करोड विनियोजन गरिएकाे छ ।

साथै मनमोहन कार्डियोथोरासिक भाष्कुलर एण्ड ट्रास्प्लान्ट केन्द्रको पूर्वाधार निर्माण, बाँकेको शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालनमा ल्याउन, सिराहामा क्यान्सर अस्पताल निर्माण गरी वि.पि. कोइराला क्यान्सर अस्पतालको विस्तारित सेवा प्रदान गर्न र जि.पी. कोइराला राष्ट्रिय स्वाशप्रश्वास उपचार केन्द्रको सेवा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको  बताए।

बजेटमार्फत मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मानव अंगको म्याचिङ टेष्ट  स्थापना गर्न अनुदानको व्यवस्था समेत मिलाइएको छ । साथै केन्द्रीय स्वास्थ्य प्रयोगशालालाई अत्याधुनिक प्रविधियुक्त राष्ट्रिय निदान केन्द्रको रूपमा स्तरोन्नति गरिने तथा तीन वर्षभित्र सबै प्रदेशमा अत्याधुनिक निदान केन्द्रहरू सञ्चालनमा ल्याइने समेत अर्थमन्त्रीले बताए ।

प्रकाशित मितिः २०७६ जेठ १६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *