सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा वर्षमा २७ हजार बढीको मृत्यु
काठमाडौं । एक अध्ययनअनुसार सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण नेपालमा वर्षमा २७ हजार बढीको मृत्यु हुन्छ । मृत्युदर बर्षेनी बढेको भन्दै विज्ञले नियन्त्रणका लागि सरकारले कर बढाउनु पर्नेमा जोड दिएका छन् ।
चुरोटमा निकोटिन, आर्से्निक, कार्वन मोनोअक्साइड एसिटोनलगायत ४ हजार बढी केमिकल हुन्छ । जसले बाहिरी छालामा असरदेखि हड्डी कमजोर बनाउनेसहित क्यान्सर, मुटु र मृगौला रोग निम्त्याउँछ । गर्भको बच्चालाई असर गर्छ । धुम्रपान गर्ने आमाबाट जन्मिएको बच्चालाई समेत क्यान्सर हुने सम्भावना उच्च हुन्छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको ३५.५ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिलाले धुम्रपान गर्छन् । यस्तै, सुर्तीजन्य पदार्थको मात्रै सेवन गर्नेमा ३१.२ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिला छन् ।
एक्सन नेपाल नामक गरेको अनुसन्धानमा धुम्रपानसँग सम्बन्धित विभिन्न रोगको उपचारमा लाग्ने खर्च र नियमित प्रयोग गर्ने चुरोटमा हुने खर्च जोड्दा एक व्यक्तिले वर्षमा नौ लाखभन्दा बढी खर्च गर्छ । धुम्रपानले हुने मुटुरोगको उपचारमा मात्रै प्रत्येक वर्ष ३३ अर्ब रुपैयाँ खर्च हुने गरेको तथ्यांक छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा भगवान कोइरालाले सूर्तीजन्य पदार्थले मुटुरोग मात्रै नभएर हरेक अंगलाई असर गर्ने भन्दै सेवन नगर्न आग्रह गर्छन । सुर्तीजन्य पदार्थको खपत घटाएर नागरिकलाई स्वास्थ राख्न कर बढाउनु पर्ने उनको सुझाब छ ।
वरिष्ठ छातीरोग विशेषज्ञ डा. रमेश चोखानी पनि पछिल्लो समय चुरोट सेवनका कारण युवा अवस्थामा नै फोक्सोसम्बन्धि समस्या लिएर आउने बिरामीको संख्या बढेको भन्दै सचेत हुन आग्रह गर्छन ।
धुम्रपान छोड्दा ७२ घन्टासम्म तलतल लाग्छ ।य दी ७२ घण्टा धुम्रपानलाई बेवास्ता गरे धुम्रपान छोड्न सहज हुन्छ । यसको लागि धुम्रपान गर्ने स्थानमा नजाने र धुम्रपान गर्ने साथीसँग नभेट्ने गर्नुपर्छ । विश्वभरि १ अर्बभन्दा धेरै मानिसले धुम्रपान गर्छन् । र, सन् २०३० सम्ममा हरेक वर्ष १ करोडजति मानिसको मृत्यु धुम्रपान कै कारण हुने अनुमान गरिएको छ ।
प्रकाशित मितिः २०७६ जेठ १३ सोमबार