सास गन्हाउने समस्या भए काँक्रा खानुहोस्,

भक्तपुर न्यूज

२९ चैत २०७५ १:२१

सास गन्हाउने समस्या भए काँक्रा खानुहोस्,

काठमाडौं । काँक्रोको वनस्पति नाम कुकुमिस साटिभस हो । यो कुकुरविटासी परिवारमा पर्दछ । काँक्रोको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ । अन्य लहरे बाली जस्तै काँक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन ।

यसलाई लामो समयसम्म न्यानो तापक्रमको आवश्यक पर्दछ । काँक्रो तराईमा माघ, फागुनमा रोपिन्छ भने बेमौसमी खेतीका लागि पुसमा बेर्ना तयार गरी रोपिन गर्दछ । मध्य पहाडमा फागुन, चैतमा रोपिन्छ भने उच्च पहाडमा वैशाखदेखि जेठसम्म काँक्रो रोपिने गर्दछ। यो धेरै जातका हुन्छन् ।

काँक्रोको बोट कम लहरादेखि बढी लहरा जाने र त्यस्तै हाँगाहरू पनि कम र धेरै हुने पाउँदछन्। पातको फेदबाट त्यान्द्राहरू निस्कन्छन् । यस्को जरा लामो गहिरोसम्म जाने हुन्छ र एउटै बोटमा भाले र पोथी फूलहरू हुन्छन् ।

यसलाई राम्ररी थाँक्रा दिन सकेमा मात्र राम्ररी फल्छ। साथै काँक्रोको पहिलो मुन्टा चुडिदिएमा धेरै लहरा निस्कन्छ र बढी फल लाग्दछ । काँक्रोमा भिटामिन सी, पोटासियम, फोलिक एसिड प्रसस्त मात्रामा पाइन्छ ।

यसबाहेक यसबाट कार्बोहाइडे्रट, क्याल्सियम, फोस्फोरस, फलाम, सल्फर आदि पनि प्राप्त गर्न सकिन्छ । यसमा पानीको मात्रा झण्डै ९४ देखि ९६ प्रतिशतसम्मा हुन्छ ।

सय ग्राम काँक्रोमा पाइने पौस्टिक तत्त्व :

पानी–९६, क्यालोरी–१३,

कार्बोहाइडे्रट–२.७६ मिग्रा,

क्याल्सियम–१४ मिग्रा,

फोस्फोरस–२० मिग्रा,

फलाम–०.६० मिग्रा,

भिटामिन सी–१४ मिग्रा,

पोटासियम–१४४ मिग्रा,

म्याग्नेसियम–११ मिग्रा,

सोडियम–२ मिग्रा

काँक्राले पुर्याउने फाइदा यस्ता छन्ः

क्यान्सरको जोखिम कम गर्छ

काँक्राले शरीरमा अनावश्यक रुपमा बढ्दै गएको कोषलाई रोक्ने गर्छ । जसले शरीरमा हुनसक्ने क्यान्सरको जोखिम घटाउँछ ।

शरीरमा पानीको कमी हुन दिँदैन

काँक्रामा ९५.२ प्रतिशत पानी हुन्छ । यसर्थ शरीरमा पानीको मात्रा पुरा गर्नको लागि प्रशस्त मात्रामा कांक्रोको सेवन पनि गर्न सकिन्छ ।

श्वास गनाउनबाट मुक्त

सामान्यतया मुखमा भएको ब्याक्टेरियाले श्वास गनाउने गर्छ । काँक्रा लगायतका रेशायुक्त र प्रशस्त पानी भएका खानाले त्यस्ता ब्याक्टेरियालाई हटाउँछ । जसले मुख गनाउने समस्याबाट मुक्ति दिन्छ ।

मुटु स्वस्थ राख्न सहयोगी

काँक्रामा पोटाशियमको मात्रा पनि प्रशस्त हुन्छ । जसले उच्च रक्तचाप हुनबाट जोगाउँछ । यसका साथै काँक्रामा रहेको पोटाशियमले मुटु सम्बन्धी अन्य रोगबाट पनि टाढै राख्न मद्दत गर्छ ।

मस्तिष्क स्वस्थ राख्छ

स्ट्रोबेरी र अंगूरमा जस्तैं काँक्रामा पनि फिसेटिन नामक तत्व हुन्छ । जसले मस्तिष्कलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यो तत्वले बढ्दो उमेरमा मस्तिष्कमा देखिने रोगहरूको जोखिम पनि कम गराउँछ । साथै बढ्दो उमेरमा देखिने अलजाइमरको जोखिमलाई घटाउँछ ।

बुढ्यौली रोक्छ

छाला चाउरिनबाट रोक्ने सौन्दर्य प्रसोधनका सामानमा काँक्राको प्रयोगलाई प्राथमिकता दिइन्छ । काँक्रामा छाला चाउरिनबाट रोक्ने तत्व हुने भएकाले यसलाई सिधै पनि प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मितिः२०७५ चैत २९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *