एसइईको प्रश्नपत्र ‘लिक’ प्रहरीले नै गरेको खुलासा
काठमाडौं । काठमाडौं । प्रदेश नम्बर २ मा माध्यमिक शिक्षा परीक्षा एसइईको प्रश्नपत्र ‘लिक’ प्रहरीले नै गरेको खुलासा भएको छ । घटनाको छानबिन गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले प्रश्नपत्र आउट गरेको आरोपमा इलाका प्रहरी कार्यालय सिरहा कल्याणपुरमा कार्यरत प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डलसहित ७ जनालाई पक्राउ गरेको छ ।
अनुसन्धानका क्रममा पक्राउ परेका प्रहरी जवानबाटै प्रश्नपत्र बाहिरिएको खुलेको हो । ‘‘प्रश्नपत्र राखेको कोठाको साँचो हवल्दारसँग थियो । ती प्रहरीले हवल्दारको साँचो चोरेर प्रश्नपत्रको फोटो खिचेर इमोमार्फत् आफ्नो भाइलाई पठाएको देखियो । “मुख्य संलग्नता उनीहरुकै रहेछ,’’ एक प्रहरी अधिकारीले भने । प्रश्नपत्र आउट गर्ने प्रकरणमा एक शिक्षक, दुई प्रहरीसहित अन्य ४ जना पनि पक्राउ परेका छन् । पक्राउ परेकालाई बिहीबार आज सार्वजनिक गर्ने तयारी रहेको सिआइबी स्रोतले बतायो ।
दुबै प्रहरीलाई सिआइबीको केन्द्रीय कार्यालय काठमाडौं ल्याएर छानबिन गरिएको थियो । उनीहरुलाई बिहीबार नै सिराह लगिँदैछ । केन्द्रीय अनुसन्धान व्युरोका प्रमुख डिआइजी निरज शाहीले घटनाको अनुसन्धान जारी रहेको र पत्रकार सम्मेलनमार्फत् सबै कुरा सार्वजनिक गर्ने बताए । १४ र १५ चैतमा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो ।
इप्रका, कल्याणपुरमा जनता मावि बनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र राखिएको थियो । प्रश्नपत्र निकालेर फोटो खिचिसकेपछि उनीहरुले इमोमार्फत् सप्तरी पठाएका थिए । त्यहीँबाट प्रश्नपत्रको किनबेच सुरु र भाइरल भएको एक अधिकारीले बताए ।
प्रकाशित मितिः२०७५ चैत २१ बिहिबार