तीन गर्भवती एकै बेडमा
पर्याप्त बेड नहुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूतिका बिरामीको बिजोग भएको छ । दैनिक चाप थेग्न नसक्दा एकै बेडमा ३ जनासम्म बिरामी राख्नुपर्ने र कतिपयलाई भुइँमै उपचार गराउनुपर्ने बाध्यता छ ।
प्रतिष्ठानमा मातृशिशु स्याहार केन्द्र थप्न २ वर्षअघि भवन निर्माण सुरु भए पनि बीचमै रोकिँदा बिरामी मारमा परेका हुन् । प्रतिष्ठानको प्रसूति विभागमा दैनिक क्षमता ३० जनाको मात्र छ । तर चौबीस घण्टामा ६० देखि ८० जना प्रसूतिका लागि आउने गरेका विभाग प्रमुख डा। मोहनचन्द्र रेग्मीले जानकारी दिए । ‘उनीहरूलाई व्यवस्थापन गर्न सधैं हम्मे पर्छ,’ उनले भने ।
प्रसूतिको इमर्जेन्सी क्षमता ५ बेडको मात्र छ । अप्रेसनपछि राखिने पोस्टनेटल वार्डको क्षमता ३६ वटा छ । जटिल अवस्था भएपछि प्रसूति विभागले मात्र दैनिक १५ जनाको अप्रेसन गर्ने र तीमध्ये अधिकांशलाई एक सातासम्म निगरानीमा राख्नुपर्ने भएकाले सधैं बेड अभाव हुने गरेको डा। रेग्मीले बताए । उनले चाप थेग्न नसक्दा बिरामीलाई जस्तै चिकित्सक र नर्सले सधैं हैरानी खेप्नुपरेको बताए । कान्तिपुर दैनिकबाट ।
प्रकाशित मितिः २०७५ भदौ १७ आइतबार