आजदेखि आकस्मिक बाहेकका सेवा बन्द
काठमाडौं २९ असार । १४ दिनदेखि आमरण अनशनरत डा। गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु आजदेखि हडतालमा उत्रेका छन् । त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन एनआरडीएले आजबाट आकस्मिकबाहेकका सेवा ठप्प पार्न लागेको हो ।
एनआरडीएले एक विज्ञप्ति जारी गर्दै सरकारी रवैयाले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने कठोर बाटो रोजेको जनाएको छ । एसोसिएसनमा ३ सयभन्दा बढी आवासीय चिकित्सक आबद्ध छन्।
एसोसिएसनले धेरै दिनदेखि धैर्य गरेर कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रम गर्दा सरकारले नसुनेपछि कठोर कदम चाल्न बाध्य भएको उल्लेख गरेको छ। हडतालबाट हुने असुविधा तथा क्षतिको जिम्मेवार सरकार आफैं रहने विज्ञप्तिमा उल्लेख छ। १४ दिनदेखि डा, केसी जुम्लामा अनशनरत रहे पनि अझैसम्म उनका मागबारे सरकारी पक्षसँग वार्ता हुन सकेको छैन । बरु उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ ।