बाबुरामद्वारा सरकारसँग चिकित्सा शिक्षा विधेयक फिर्ता लिन माग

भक्तपुर न्यूज

२० असार २०७५ ९:०२

बाबुरामद्वारा सरकारसँग चिकित्सा शिक्षा विधेयक फिर्ता लिन माग

काठमाडौं । सरकारले अगाडि बढाउन खोजिरहेको चिकित्सा शिक्षा विधेयक फिर्ता लिन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारसँग माग गरेका छन् ।

संसदमा समय लिएर बोल्दै भट्टराईले डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे ध्यान पुर्‍याउन समेत सरकारलाई आग्रह गरेका छन् ।

‘शिक्षा र स्वास्थ्य भनेको कहिल्यै पनि मुनाफाको विषय हुन सक्दैन’, भट्टराईले भने, ‘चिकित्सा शिक्षा विधेयकको मस्यौदा प्रतिगिगमनकारी प्रकारको छ। यसले शिक्षा स्वास्थ्य क्षेत्रलाई मुनाफाको क्षेत्रमा मात्र छाडेको छैन। शिक्षा र स्वास्थ्य आम जनताको पहुँच बाहिर जाने र केही मुठिभर मान्छेले मात्र यसको व्यापारिकरण गरेर लाभ उठाउने दिशा उन्मुख छ।’

भट्टराईले साम्यवाद उन्मुख पार्टी सत्तामा रहेका बेला विधेयक रोकिनुको सट्टा प्रश्रय दिइएको भन्दै विरोध जनाए। उनले चिकित्सा र शिक्षा क्षेत्रमा उदारवादको नक्कल गर्दा भित्रिएको विकृतीलाई रोक्नुपर्ने तर्क गरेका छन् ।

‘विधेयक फिर्ता लिनुपर्छ। यसैका लागि गोविन्द केसीले १५ औँ पटक अनुसन बस्दै आइराख्नु भएको छ’, भट्टराईले भने, ‘गम्भीरतापूर्वक लिएर स्वास्थ्य अवस्थाको ध्यान दिनुपर्छ।’

भट्टराईले सार्वजनिक क्षेत्रमा विरोध प्रदर्शन रोक लगाइएको प्रति समेत आपत्ति जनाए।

‘जनताले पनि नसुन्ने र सरकारको पनि ध्यान नपुग्ने कुना काप्चाका गल्लीमा विरोध गर्न पाउने भनेर जुन प्रकारको निर्णय गरेको छ। लोकतन्त्र समाजवाद विरुदध छ’, भट्टराईले भने, ‘कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले स्वतन्त्रतालाई कुण्ठित गर्ने निर्णय गरेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *