डा. केसीको गिरफ्तारीबारे बोल्यो नेपाल चिकित्सक संघ
काठमाडौं, १७ असार । डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको घटनाको नेपाल चिकित्सक संघले विरोध गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै नागरिकले सरकारको बिरोध गर्न पाउने मौलिक हकको उल्लंघन गरिरहेको जनएको छ । ‘नेपालको चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका अभियन्ता एवं यस संघका आजीवन सदस्य केसीलाई जुम्लामा सामान्य स्वास्थ्य परीक्षणका लागि बन्देज गराईको घटनाका सम्बन्धमा नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ संघका महासचिव डा लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेपालको संविधानले स्वास्थ्य क्षेत्रलाई मौलिक अधिकारको रुपमा स्वीकार गरी प्रत्येक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिनेछ भन्ने प्रावधान विपरीत चिकित्सा शिक्षा र गुणस्तरी स्वास्थ्य सेवाका अभियन्ता केसीलाई पूर्वाग्रह राखी साधारण स्वास्थ्य परीक्षणबाट नै बन्देज गराउनुले सामान्य नागरिकको आधारभूत मानव अधिकारको हनन भएको नेपाल चिकित्सक संघले ठहर गरेको छ ।
‘यस्तो अस्वाभाविक क्रियाकलाप अभिलम्ब रोकी सम्पूर्ण नागरिकहरुलाई बिना कुनै रोकतोक आफ्नो कुराहरु निष्पक्ष रुपमा राख्न पाउने र जुनसुकै स्वास्थ्य संस्थामा सहज र सरल रुपमा स्वास्थ्य सेवा लिन पाउने अधिकारबाट बञ्चित गराइएको खण्डमा नेपाल चिकित्सक संघ आफ्नो सदस्यहरुको रक्षाका लागि जुनसुकै कदम चाल्न पछि नपर्ने व्यहोरा समेत यसै विज्ञप्तीमार्फत् जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ । संघले सम्पूर्ण शाखाहरुलाई विगतमा जस्तै डा केसीले उठाका जायज मागहरुलाई पूर्णरुपमा सहयोग र समर्थन गर्दै निर्णायक तहमा पुर्याउन समेत सबैमा हार्दिक अपिल गरेको छ ।