यो वर्ष कक्षा ११ र १२ मा पुरानै पाठ्यक्रम

भक्तपुर न्यूज

६ असार २०७५ ६:३७

यो वर्ष कक्षा ११ र १२ मा पुरानै पाठ्यक्रम

काठमाडौं, ६ असार । यो वर्ष कक्षा ११्१२ को पाठ्यक्रम परिवर्तन नहुने भएको छ । चौतर्फी आलोचना भएपछि कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम यो वर्ष पूर्णरुपमा लागू नहुने भएको हो ।

गणित र विज्ञान विषय आवश्यकताअनुसार नसमेटिएको विज्ञहरूको भनाइ थियो भने निजी विद्यालय सञ्चालक र पुस्तक प्रकाशकहरूले तयारीपछि मात्रै कार्यान्वयनमा ल्याउन दबाब दिएका थिए। शिक्षाविद्हरूले समेत हतारमा पाठ्यक्रम कार्यान्वयन गर्न लागिएको भन्दै विरोध जनाएपछि रोकिएको हो ।

यो वर्ष केही विद्यालयमा परीक्षण गरेर मात्र अर्को वर्षदेखि लागू गर्ने तयारी भईरहेको परिषदका आमन्त्रित सदस्य एवम् राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि गौतमले जानकारी दिए ।

यसअघि केन्द्रले कक्षा ११ को पाठ्यक्रम आगामी साउनबाट लागू गर्ने तयारी गरेको थियो ।

नयाँ पाठ्यक्रममा गणित र विज्ञानलाई एउटै समूहमा राखेर कुनै एउटा रोज्ने व्यवस्था थियो । यो व्यवस्थाबाट गणित र विज्ञान दुवै विषय पढ्न चाहनेले कुनै एउटा मात्र विषय पढ्नुपर्ने बाध्यता थियो । नयाँ पाठ्यक्रमको आलोचकहरुले गणितले तार्किक क्षमता वृद्धि गर्ने भएकाले यो विषयलाई पाठ्यक्रमबाट हटाइँदा अरु विषयहरुलाई पनि असर पर्ने तर्क गरेका थिए ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले नयाँ पाठ्यक्रम लागू गर्नुअघि परीक्षण गर्ने परम्परा रहेकाले सोहीअनुसार अगाडि बढ्ने बताए । उनका अनुसार सुरुमा विज्ञहरुसँग परामर्श गरेर नै गणित र विज्ञानलाई ऐच्छिक बनाइएको थियो तर, पछि आलोचना भयो ।

गणित समाजका अध्यक्ष प्रा. डा. टंकनाथ धमलाका अनुसार गणित र विज्ञान विषय अनिवार्य नगरिँदा दक्ष जनशक्ति उत्पादनमा वाधा पुग्ने छ ।  नयाँ पाठ्यक्रमले कक्षा ११ र १२ का करिब पाँच लाख विद्यार्थीहरुलाई ठूलो अन्याय हुने र विज्ञान तथा प्रविधिको विकासमा आघात पुग्ने उनको तर्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *