अब परीक्षा फारम अनलाइनबाट
काठमाडौं । स्कुल तहका विद्यार्थीले आउने वर्षदेखि परीक्षा, रजिस्ट्रेसन तथा अन्य सम्पूर्ण फारम अनलाइनबाटै भर्न पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले अनलाइनबाट फारम भर्ने प्रणाली विकासको काम अन्तिम चरणमा पु¥याएको बताएको छ।
यो व्यवस्था कार्यान्वयनमा आएपछि सामुदायिक तथा निजी स्कुल सञ्चालकले विद्यार्थीको परीक्षा आवेदन, रजिस्ट्रेसन, मौका परीक्षालगायत फारम भर्न केन्द्रमा धाउनुपर्ने बाध्यताबाट मुक्ति पाउने बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताए ।
विद्यार्थीको सबै विवरण समेटिएको फारम विद्यालयले भर्न सक्नेछन् । पहिलो चरणमा फारम भर्ने जिम्मा स्कुललाई दिइने र केही समयपछि सम्बन्धित विद्यार्थीलाई नै दिने तयारी छ। पौडेलले भने, ‘सफ्टवेयर निर्माणका लागि कम्पनी छनोट गर्ने काम अन्तिम चरणमा पुगेको छ।’ उनका अनुसार यो प्रणालीको विकास भएपछि कक्षा नौ, १०, ११ तथा १२ कक्षा पढिरहेका विद्यार्थीको सम्पूर्ण फारम अनलाइनबाटै भर्न सकिनेछ।