भारतमा फैलियो ज्यानमारा भाइरसको संक्रमण

भक्तपुर न्यूज

८ जेठ २०७५ ६:१२

भारतमा फैलियो ज्यानमारा भाइरसको संक्रमण

काठमाडौं । भारतको केरलामा आजभोलि एक भाइरसले मृत्युको जोखिम बढाइरहेको छ । यसको नाम हो निपाह । पछिल्लो दुई हप्तामा केरलाको तटीय शहर कोझिकोडमा एकै परिवारका तीन जनाको मृत्यु भइसकेको छ भने अरु धेरै यसबाट पीडित छन् । त्यसको कारण यही भाइरस भनिएको छ ।

एनडीटीभीका अनुसार राज्यका स्वास्थ्यमन्त्री केके शायलजाले भने यस भाइरसको प्रकृति पूर्णरुपमा पत्ता लागिनसकेको बताएका थिए । उनका अनुसार मृतकको बिरामीको पछाडि कुन भाइरस छ, यो अझै रहस्यमै छ । मृतकको रगत लगायतका नमूना परीक्षणका लागि पुणेस्थित नेशनल वायरोलोजी इन्सटिच्युटमा पठाइएको छ ।

तर, मृतकका छिमेकीहरुले स्वास्थ्य अधिकारीहरुलाई ति तीनै जनाले एक फल खाएको देखेका थिए । उनीहरुको आइतबार मृत्यु भयो । इन्डियन एक्सप्रेसका अनुसार तीनैजनाको मृत्युको १२ घण्टाभित्र कोझिकोड र मलप्पुरमा यही लक्षणका साथ थप आठ जनाको मृत्यु भएको छ ।

तर, यो भाइरस के हो र कसरी फैलिएको छ रु कसरी यो यति खतरनाक हुन्छ र ज्यान नै जान्छ रु भन्ने कुराको अनुसन्धान जारी छ । विश्व स्वास्थ्य संगठनका अनुसार निपाह भाइरस (एनआईभी) निकै छिटो फैलिने भाइरस हो जसले जनावर र मानिसलाई गम्भीर रुपमा बिरामी बनाउँछ ।

नेपाल पनि जोखिममा

एनआईभी सबैभन्दा पहिले सन् १९९८ मा मलेसियाको कम्पुङ सुगाई निपाह भन्ने ठाउँमा पत्ता लागेको थियो । त्यसपछि त्यो भाइरसलाई ‘निपाह’ नाम दिइयो । त्यतिबेला सुँगुरको माध्यमबाट यो भाइरस सरेको थियो ।

तर, त्यसपछि जहाँजहाँ एनआईभीको बारेमा थाहा भयो, यस भाइरस फैलिने माध्यम सुँगुर थिएन । २००४ मा बंगालादेशमा केही व्यक्ति संक्रमित भएका थिए । उनीहरुले खजुरको रुखबाट निस्किने तरल पदार्थ खाएका थिए । यो तरल पदार्थसम्म भाइरस लैजाने चमेराहरु थिए, जसलाई ‘फ्रुट ब्याट’ भनिन्छ । त्यसपछि यो भाइरस चमेरा हुँदै एक व्यक्तिबाट अर्को व्यक्तिसम्म सरेको पुष्टि भयो ।

नेपालको तराई मधेसको जिल्लामा पनि खजुरको रुखबाट निस्किने तरल पदार्थ संकलन गरेर गर्मीको समयमा खाने गरिन्छ । ‘ताडी’ भनिने यस तरल पदार्थ नशालु हुन्छ ।

तर, यदि चमेरो आउँछ भने ताडी नखानु उपयुक्त हुने चिकित्सकहरु बताउँछन् । शुक्रराज ट्रपिकल सरुवा रोग केन्द्रका डा अनुप बास्तोलाले भने, ‘निपाहको धेरै जोखिम छैन । तर, यदि ताडी खाने गरिएको छ र त्यहाँ चमेरा आउँछ भने सतर्क हुनु उपयुक्त हुन्छ ।’

बिरामीको लक्षण

मानिस वा जनावरलाई यस बिरामीबाट निको बनाउन हालसम्म कुनै पनि औषधि वा सुई बनेको छैन । राष्ट्रिय रोग नियन्त्रण केन्द्रका अनुसार निपाह भाइरसको इन्फेक्सन इन्सफ्लाइटिससँग सम्बन्धित छ जसले दिमागमा क्षति पुर्‍याउँछ । यो भाइरस पाँचदेखि १४ दिनसम्म शरिरभित्र पर्‍यो भने तीनदेखि १४ दिनसम्म उच्च ज्वरो आउँछ र टाउको पनि असाध्यै दुख्छ ।

मानिसमा एनआईभी संक्रमण भयो भने श्वास प्रस्वास सम्बन्धी गम्भीर समस्या देखिन्छ र, ज्यानमारा इन्सफ्लाइटिस पनि हुनसक्छ । यो लक्षण देखिएको २४ देखि ४८ घण्टाभित्र बिरामी कोमामा पुग्नसक्छ । संक्रमणको शुरुआती चरणमा सास फेर्न गाह्रो हुन्छ । केही विरामीहरुलाई स्नायूसम्बन्धी समस्या पनि हुन्छ ।

सन् १९९८–९९ मा जब यो रोग फैलियो तब यस भाइरसबाट २६५ जना पीडित भएका थिए । अस्पतालमा भर्ना भएकामा ४० प्रतिशत विरामीमा स्नायू सम्बन्धी समस्या थियो र उनीहरुको मृत्यु नै भयो ।

आमरुपमा यो भाइरस मानिसहरुको सम्पर्कमा आउने चमेरा, सुँगुर वा यो भाइरसबाट संक्रमित दोस्रो व्यक्तिबाट फैलिन्छ । मलेसिया र सिंगापुरमा यो भाइरस सुँगुरमार्फत फैलिएको पत्ता लागेको थियो जबकी भारत र बंगलादेशमा व्यक्तिबाट व्यक्तिमार्फत् सर्ने खतरा धेरै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *