वागीश्वरीमा अनुसन्धानविधिबारे ५ दिने तालिम सुरु
भक्तपुर, ६ जेठ । वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ५ दिने Research Methodology Training सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भक्तपुरलाई ख्वप विश्वविद्यालय खोल्ने अनुमति दिएको भए १० लाखमा डाक्टर पढाउन सकिने कुरा थाहा पाएर नीजी चिकित्सा माफियाहरुको दबाबमा सरकारले अनुमति नदिएको आरोप लगाए ।
उनले भने, ‘प्राध्यापकहरुको राजनीतिक भागवण्डा र सरकारी शैक्षिक संस्थामा हाजिर गरेर निजी क्षेत्रमा काम गर्ने शैक्षिक माफियाहरुलाई सरकारले छुट दिनु नै उच्च शिक्षामा गुणस्तर न्यून हुनुको मुख्य कारण हो ।’
विज्ञान र प्रविधिबारे जानकारी नभएका व्यक्तिलाई सरकारले विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी दिएको कारण देश अगाडि बढ्न नसकेको उनले बताए ।
विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा. देवराज अधिकारीले शैक्षिक क्षेत्रमा उत्तीर्ण प्रतिशत र गुणस्तर बढाउनु नै प्रमुख चुनौती रहेको बताए ।
देशभरबाट २० वटा सामूदायिक क्याम्पसले मात्र गुणस्तरको प्रमाणपत्र लिन सफल रहेको बताउ“दै उनले अबको ५ वर्षभित्र सम्पूर्ण क्याम्पसहरुले गुणस्तर प्रमाणपत्र लिन प्रयास गर्नुपर्ने आवश्यकता औंल्याए । वागीश्वरी कलेज रिसर्च म्यानेज्मेन्ट सेलका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा प्राचार्य धनकुमार श्रेष्ठ र शिक्षक राजन चौगुठीले पनि बोलेका थिए ।