निजि बिद्यालयमा सरकारका भातृ सँगठनको हस्तक्षेप गलत : सम्बाहाम्फे
भक्तपुर, २० बैशाख । प्यावसनका केन्द्रिय अध्यक्ष बिजय सम्बाहाम्फेले सरकारमा रहेका पार्टीका भातृसँगठनहरुले बिद्यालयमा गएर तालाबन्दी गर्नु गलत भएको बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सम्बाहाम्फेले निजि बिद्यालय सबै राम्रा नरहेता पनि राम्रो र नराम्रो पक्षको जानकारी बिनै जसरी बिद्यालयहरुमा तालबन्दी गरिएको छ त्यो गलत भएको र सरकारले समेत ध्यान दिन नसक्नु समस्या समाधानको बाटो नभएको बताए ।
हरेक शैक्षिक सत्रसँगै उठान हुने शुल्क बिषयले यो बर्ष समेत समाधानको पाटो पाउनु नसक्नु दुःखद् रहेको भन्दै उनले बिगतमा जस्तो अस्थिर सरकार नभएर स्थिर सरकारले यो समस्या समाधानको बाटो खोज्ने तर्फ लाग्न नसकेको दुःखद भएको बताए ।
उनले निजि बिद्यालयहरु सरकारको सहयोगि माध्यमको रुपमा काम गरिरहेको र देशमा संघिय शिक्षाको बहस उठिरहेका बेला सरकारले निजि क्षेत्रका समस्यालाई अध्ययन गरि गलतलाई कारवाही र ठिकलाई प्रोत्साहन गर्नु सक्नु पर्ने बताए ।
उनले निःशुल्क शिक्षाको बिषय उठान भईरहेको बेला सरकारले चाहेका खण्डमा निजि बिद्यालय बन्द गर्न सक्ने र त्यसलाई निजि बिद्यालयले समेत सहयोग गर्ने बताउँदै निजि बिद्यालयले पु¥याईरहेको योगदानका बारे समेत सम्बन्धित क्षेत्र जानकार बन्न सक्नु पर्ने बताए ।
निजि बिद्यालयले लिएको शुल्कका बिषयमा जसरी चर्चा परिचर्चा भईरहेको छ त्यो भ्रम भएको बताउँदै उनले सेवा प्रदान अनुसारको शुल्क लिइरहेको र त्यसो नभएको भेटिएमा सरकारले अनुगमन गरि कारवाही गर्न सुझाव दिए । सरकारले आर्थिक समृद्ध्रिको पाटोलाई प्राथमिकता दिईरहेको बेला निजि बिद्यालय सहयोगिको भूमिकामा रहेको समेत उनले बताए ।