भक्तपुरका ४ हजारबढी विद्यार्थी विद्यालयबाहिर

भक्तपुर न्यूज

६ वैशाख २०७५ ३:०४

भक्तपुरका ४ हजारबढी विद्यार्थी विद्यालयबाहिर

भक्तपुर, ६ बैशाख । देशभर विद्यार्थी विद्यालय भर्ना अभियान चलिरहँदा भक्तपुरमा भने ४ हजार २०४ विद्यार्थी हालसम्म पनि विद्यालयबाहिर रहेको खुल्न आएको छ । पूर्ण साक्षर जिल्ला घोषणा भएको जिल्ला भए पनि भक्तपुरमा हालसम्म पनि हजारौं विद्यार्थी विद्यालय बाहिर छन् ।

शिक्षा विभागको तथ्यांकअनुसार २०७३ सालको आँकडामा भक्तपुरमा ४ हजार २०४ विद्यार्थीे विद्यालय बाहिर छन् ।अनिर्वाय शिक्षाका लागि विद्यार्थी भर्ना कार्यक्रम देशव्यापी रूपमा ठूलै जनशक्तिसाथ लागू हुँदा पनि भक्तपुरमा ४ हजार २०४ विद्यार्थी विद्यालयबाहिर रहेको विभागले जनाएको छ ।

भक्तपुरमा प्राथमिक तहमा छात्रातर्फ ५१८ र छात्र ८४३ गरी जम्मा १ हजार ३६१ विद्यार्थी विद्यालयबाहिर रहेका छन् भने आधारभूत तहमा १ हजार ११८ छात्रा र १ हजार ७२५ छात्र गरी कुल २ हजार ८४३ विद्यार्थी विद्यालयबाहिर रहेको विभागले जनाएको छ ।

‘उनीहरूलाई विद्यालयसम्म ल्याउनु हाम्रो दायित्व भएका कारण घरदैलो कार्यक्रममा छौं,’ चाँगुनारायण नगरपालिका वडा नम्बर–८ पञ्चकन्या माविका प्रधानाध्यापक सन्तराम दुलालले भने, ‘विगतका वर्ष विद्यालय नआएका विद्यार्थीका घरमा पुगी उनीहरूको समस्या के हो रु भन्ने विषयमासमेत अध्ययन गरी कसरी विद्यालयमा ल्याउने भन्नेमा लागिपरेका छौं ।’

चाँगुनारायण नगरपालिका वडा–९ स्थित देवी माविका प्रधानाध्यापक पनिआफ्नो क्षेत्रमा ‘विद्यालयबाहिर विद्यार्थी नहोऊन्’ भनी शिक्षक टोली नै बनाएर हरेक विद्यार्थीको घरका घरदैलो गरिरहेको बताउँछन् । ‘हामीले हरेक वर्ष कम्तीमा दुईपटक विद्यार्थीको घरसम्म नै पुगेर कोही नछुटून् भन्ने विषयमा अध्ययन गरिरहेका छौैं,’ उनले भने ।

निजी विद्यालय पनि हरेक क्षेत्रमा विद्यार्थी भर्नाका लागि घरदैलो गरिरहेका छन् । तर, उनीहरूको उद्देश्य पैसा तिर्नसक्ने अभिभावकलक्षित भई विद्यार्थी तान्ने काम मात्र भएको सूर्यविनायक–१० का अभिभावक सुरेस सुकुभट्टु आरोप लगाउँछन् । केही विद्यालयको पैसा तिर्न नसक्ने विद्यार्थीलाई पनि उनीहरूले निःशुल्क पढाउने व्यवस्था स्थानीय सरकारले बाध्यकारी नियम ल्याए कोही पनि विद्यालयबाहिर नहुने उनको दाबी छ ।

‘विद्यार्थी विद्यालयबाहिर नहोऊन्’ भनेर स्थानीय निकाय विद्यालयका सरोकारवालाबीच छलफल गरी रणनीतिक योजना नै बनाएर आफूहरूले काम गरिरहेको जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझी बताउँछन् । हाल शिक्षाको जिम्मेवारी स्थानीय निकायलाई दिइएका कारण यस वर्ष विद्यालयबाहिर विद्यार्थी संख्या नगन्य मात्र हुनेमा आफू विश्वस्त भएको पनि उनले बताए ।

देशकै सानो जिल्ला भक्तपुरमा हालसम्म १३० सामुदायिक विद्यालय र १८५ वटा निजी विद्यालय छन् । यो संख्या हेर्दा विद्यालय पहुँचका आधारमा विद्यार्थी विद्यालयबाहिर भने नरहेको रायमाझीकोतर्क छ । शिक्षा विभागका अनुसार देशभर अघिल्लो वर्षको आँकडाअनुसार ५ लाख ३३ हजार ६८७ विद्यार्थी विद्यालयबाहिर रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *