शिक्षामन्त्री पोखरेलले गरे सबै प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँग सामूहिक छलफल
काठमाडौं, २५ चैत । सरकारले विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानलाई सफल बनाउन प्रभावशाली संयन्त्र बनाउन प्रदेश सरकारसँग आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज सबै प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँग काठमाडौंमा सामूहिक छलफल गरी अभियानलाई सफल बनाउन आवश्यक संयन्त्र निर्माण गर्न आग्रह गरेको हो ।
शिक्षा मन्त्रालयमा भएको छलफलमा उनले अभियानलाई सफल बनाउन सबै प्रदेशले आफू मातहतका सबै जनप्रतिनिधि, राष्ट्रिय जीवनका व्यक्तित्व, नागरिक समाजका अगुवाहरुलाई परिचालन गर्न पनि गम्भिर ध्यानाकर्षण गराएका छन् ।
देशभरका सबै विद्यार्थीहरुलाई विद्यालय पहुँचमा पु¥याउँने उद्देश्यका साथ सरकारले आगामी बैशाख २ गतेदेखि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक अभियान संचालन गर्दैछ । सोही अभियानलाई सफल बनाउन मन्त्री पोखरेलले सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँग सामूहिक छलफल गर्दै सबै विद्यार्थीहरुलाई विद्यालयको पहुँच ल्याउन अभियान संचालन गर्न लागिएको पनि स्पष्ट पारे ।
मन्त्री पोखरेलले एक वर्ष भित्र अनिवार्य शिक्षा ऐन निर्माण गरी विद्यालय नपठाउने अभिभावकलाई समेत कार्वाही गर्ने कानुनी व्यवस्था गर्ने चेतावनी पनि दिए ।
सरकारले ५ महिना भित्र संघीय शिक्षा ऐन निर्माण गर्ने योजना पनि बनाएको छ । मन्त्री पोखरेलले संवैधानिक व्यवस्था अनुसार सबै तहको अधिकार र कर्तव्य स्पष्ट उल्लेख हुनेगरी संघीय शिक्षा ऐन निर्माण हुने पनि स्मरण गराए ।
कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकास मन्त्रीहरुले जनशक्तिको उचित व्यवस्थापन गरेर शैक्षिक अभियानलाई प्रभावकारी बनाउन सुझाव दिए ।