साक्षरता ८० प्रतिशत पुगेको दाबी

भक्तपुर न्यूज

२ चैत २०७४ ३:४२

साक्षरता ८० प्रतिशत पुगेको दाबी

काठमाडौं २ चैत । शिक्षा मन्त्रालयले नेपालको साक्षर जनसङ्ख्या ८० प्रतिशत पुगेको दाबी गरेको छ । शिक्षा सचिव मधुप्रसाद रेग्मीले नेपालको साक्षर जनसङ्ख्या ८० प्रतिशत नाघेको दाबी गरेका हुन् ।

गत २०६८ सालमा सम्पन्न राष्ट्रिय जनगणनाले नेपालमा ६५ दशमलव ९ प्रतिशत नागरिक साक्षर रहेको देखाएको थियो । गत २०५८ सालमा यो प्रतिशत ५४ दशमलव १ थियो । २००७ सालमा नेपालको साक्षरता दर दुई प्रतिशत रहेको अनुमान गरिएको थियो ।

अनौपचारिक शिक्षा केन्द्रका निर्देशक चूडामणि पौडेलले यसबीचमा नेपालले साक्षरतासम्बन्धी अभियान सञ्चालन गरेकाले साक्षरको जनसङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको बताए । उनका अनुसार हालसम्म ४५ जिल्लाले साक्षर घोषणा गरिसकेका छन् ।

२०६५ सालसम्ममा १५ देखि ६० वर्ष उमेर समूहका ७८ लाख व्यक्ति निरक्षर थिए । उनीहरू प्रायः सबैलाई साक्षर तुल्याइसकिएको दाबी सो केन्द्रको छ । हाल साक्षरतासम्बन्धी कार्यक्रम नभए पनि निरन्तर सिकाइ कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

अनौपचारिक शिक्षा केन्द्रका निर्देशक पौडेलले अब क, ख, ग र घ लेख्न जान्नेलाई मात्र साक्षरका रूपमा परिभाषित गर्न नमिल्ने तर्क गर्दै सूचनाप्रविधिको प्रयोग गर्न सक्नेलाई साक्षरका रूपमा परिभाषित गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *