त्रिवि भवन नै नक्सापासविहीन
काठमाडौं २३ फागुन । त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माणाधीन उपकुलपति, रेक्टर, डीन कार्यालयलगायतका निकायले भवन बनाउँदा नक्सापासविहनि भएको पाईएको छ । कीर्तिपुर नगरपालिकाले उक्त भवन नक्सापास नभएको भेटाएपछि तत्काल नक्सापास गर्न त्रिविलाई पत्र पठाएको छ। त्रिविले हालसम्म निर्माण गरेका कुनै पनि भवनको नक्सापास गरेको छैन।
नक्सापास नगरी धमाधम भवन निर्माण गर्न थालेपछि कीर्तिपुर नगरपालिकाले कारबाही प्रक्रिया अघि बढाउन लागेको हो। त्रिविमा हालसम्म निर्माण गरिएको कुनै पनि भवनको नक्सापास नगरेको त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले बताए ।
केही महिनाअघि कीर्तिपुर नगरपालिकाले पत्र पठाएर हाल निर्माणाधीन र निर्माण हुने क्रममा रहेको सबै निकायको नक्सा स्वीकृत लिए वा नलिएको विवरण माग गरेको नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिए । बस्ती विकास, शहरी योजना तथा भवन निर्माण मापदण्ड २०७२ अनुसार स्थानीय तहबाट नक्सापास नगरी भवन निर्माण गरे स्वीकृति दिने कार्यालय प्रमुखलाई नै कारबाही गर्न सक्ने व्यवस्था छ।