स्थानीय तहमा शिक्षाका कर्मचारी अपर्याप्त
काठमाडौँ, २० पुस । शिक्षा मन्त्रालयले हालसम्म करिब ५०० कर्मचारी काजमा खटाए पनि स्थानीय तहमा शिक्षा सेवाका कर्मचारी अपर्याप्त देखिएको छ । संविधानतः माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहको भएकाले शिक्षासम्बन्धी सेवा प्रवाहका लागि विषयगत कर्मचारी अपुग भएको हो । स्थानीय तहले शिक्षा मन्त्रालयबाट काजमा आएका कर्मचारीलाई स्थायी दरबन्दीमा मिलान गर्ने वा नयाँ विज्ञापन गरेर त्यस सेवामा कर्मचारी पूर्ति गर्ने भन्ने टुङ्गो लागिसकेको छैन ।
कर्मचारी समायोजन विधेयक, २०७४ बमोजिम समायोजन कार्यले गति नलिँदा स्थानीय तहमा शिक्षाका काम प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । मुलुकका ७५३ स्थानीय तहमा जनप्रतिनिधि आइसके पनि संविधानले दिएको कार्यक्षेत्रअनुसार शिक्षाका काम प्रभावकारी रुपमा सञ्चालन नभएर पदाधिकारी आफैँमा असन्तुष्ट देखिन्छन् । मन्त्रालयबाट काजमा खटाइएका शिक्षाका कर्मचारी पनि समयमा हाजिर गर्न नजाने प्रवृत्तिका कारण जनप्रतिनिधिले काम गराउन सकेका छैनन् ।
शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले हालसम्म करिब १०० उपसचिव र ४०० अधिकृत गरी ५०० आफ्ना कर्मचारी स्थानीय तहमा काजमा पठाइएको र समायोजन नहुञ्जेलसम्मको अन्योलका कारण मागेजति कर्मचारी पठाउन नसकिएको बताए ।