सरकार पाठेघरको क्यान्सरविरुद्व खोप सुरु गर्ने तयारीमा

भक्तपुर न्यूज

२३ कार्तिक २०७४ ३:५७

सरकार पाठेघरको क्यान्सरविरुद्व खोप सुरु गर्ने तयारीमा

काठमाडौं, २३कात्तिक । पाठेघर क्यान्सर रोगीको संख्या बढ्दै गइरहेको बेला सरकार यसको नियन्त्रणका लागि नयाँ रणनीतिका साथ अघि बढेको छ ।स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाले अबको दुई वर्षमा महिलाको पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने खोप सुरु गरिने जनाएको छ । तयारी स्वरुप सरकारले सन् २०१५— ०१६ मा पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने खोपको कास्की र चितवनमा पाइलोटिङक गरेको थियो ।

महाशाखाका खोप अधिकृत भरत भण्डारीले खोप ९ वर्षदेखि १३ वर्ष उमेरको बालिकालाई लगाइने तयारीका साथ अघि बढिएको जानकारी दिए । पाइलोटिङको क्रममा पनि ९ वर्षदेखि १३ वर्ष सम्मका १३ हजार बालिकालाई खोप लगाइएको थियो ।

भण्डारीका अनुसार पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दुई मात्रामा पुरा हुन्छ । एक जनालाई खोप लगाउनको लागि १० हजार रुपैया खर्च हुने महाशाखाको भनाई छ । खोप केहि महंगो भएपनि समयमै लगाउन सके पाठेघरको मुखको क्यान्सरबाट बचाउन सकिने भण्डारीको भनाई छ ।

महाशाखाका अनुसार महिलाको पाठेघर मुखको क्यान्सर विरुद्ध लगाइने खोपलाई पनि राष्ट्रिय कार्यक्रममा राखिने छ ।महिलाहरुमा हुने क्यान्सर मध्ये सबै भन्दा धेरै पाठेघरको मुखको क्यान्सर भएको बताइन्छ । पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसको संक्रमणको कारण हुन्छ ।

विश्व स्वास्थ्य संघको एक तथ्यांकअनुसार यो रोगबाट वर्षैनी २ लाख ७० हजार भन्दा बढी महिलाहरुको अकालमै मृत्यु हुने गरेको छ । जसमा ८५ प्रतिशत कम विकसित अर्थात नेपाल जस्तो देशहरु पर्दछन् । नेपालमा बार्षिक १० हजारको हाराहारीमा पाठेघर मुखको क्यान्सरका नयाँ विरामीहरु थपिने गरेको देखिएको महाशाखाका अधिकारीहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *