शिक्षामा लगानी वालुवामा पानी, अझै लाखौँ निरक्षर
काठमाडौं २० कार्तिक । सरकारले एक दशकअघि दुई वर्षभित्र पूर्ण साक्षर बनाउने घोषणा गरेको थियो । तर, निरक्षर उन्मूलन अभियान सुरु गरेको एक दशकसम्म सरकारको घोषणा पूरा हुन सकेको छैन । सरकारले ०६५ मा दुई वर्षमा निरक्षरता उन्मूलन गर्ने घोषणासहित साक्षरता अभियान सञ्चालन गरेको थियो । अनौपचारिक शिक्षा केन्द्रका अनुसार अहिलेसम्म जम्मा ३८ जिल्लाले साक्षर जिल्ला घोषणा गरेका छन् ।
०६५ मा डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदा दुई वर्षमा नेपालमा १५ देखि ६० वर्षसम्मको निरक्षरता उन्मूलन गर्ने घोषणासहित साक्षरता अभियान सञ्चालन भएको थियो । दुई वर्षमा निरक्षरता उन्मूलन नभएपछि अर्कोपटक तीन वर्षमा निरक्षरता उन्मूलन गर्ने घोषणा गरेको थियो । त्यसैगरी पटक–पटक घोषणा गरे पनि अहिलेसम्म लक्ष्यमा पुग्न सकेको छैन ।
१५ देखि ६० वर्ष उमेर समूहका ८० प्रतिशत साक्षर
अहिले नेपालमा १५ देखि ६० वर्ष उमेर समूहका ८० प्रतिशत साक्षर रहेको तथ्यांक छ । अनौपचारिक शिक्षा केन्द्रले ०६७÷६८ मा गरेको घरधुरी सर्वेक्षणका आधारमा नेपालमा अझै पनि सो समूहका तीन लाख निरक्षर रहेको अनौपचारिक शिक्षा केन्द्रका अधिकारीको भनाइ छ ।
०६५ देखि राष्ट्रिय साक्षरता अभियान सुरु भयो । त्यसबाट पनि पूर्ण सफलता पाउन नसकेपछि ‘साक्षर नेपाल अभियान’ थालियो । साक्षर नेपाल अभियानमा सघन रूपमा कक्षा सञ्चालन भए, सबै पढ्न आएनन् ।
६ जिल्ला साक्षर घोषणा हुँदै
०७१ देखि साक्षर जिल्ला घोषणा सुरु भएको हो । अहिलेसम्म ३८ जिल्ला साक्षर घोषणा भएका छन् । अनौपचारिक शिक्षा केन्द्रका निर्देशक चूडामणि पौडेलका अनुसार साक्षर जिल्ला घोषणाका लागि थप ६ जिल्ला तयारी अवस्थामा छन् । खोटाङ, सुनसरी, डडेल्धुरा, पर्वत, म्याग्दी र तेह्रथुम साक्षर जिल्ला घोषणा गर्ने अवस्थामा छन् । यी जिल्लाका जिल्लास्थित अनौपचारिक शिक्षा समितिले निर्णय गरी केन्द्रमा जानकारी पठाइसकेका छन् । निर्वाचन आचारसंहिताका कारण तयारी अवस्थामा रहे पनि घोषणा गर्न नसकेका हुन् । केन्द्रका निर्देशक पौडेलले चुनाव सकिएलगत्तै थप जिल्ला साक्षर घोषणा हुने बताए ।