अन्तिम नामावली र निर्वाचन चिन्ह प्रदान
काठमाडौं, २० कात्तिक । मंसिर २१ मा हुने दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गरिएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन आयोगले अन्तिम नाम प्रकाशनसँगै सबै राजनीतिक दललाई निर्वाचन चिन्ह पनि प्रदान गरेको छ ।
आयोगले मनोनयन गरिएका उम्मेदवार विरुध्द परेका उजुरीमाथि छानबिन गरी शनिबार आवश्यक निर्णय गरेको थियो । उम्मेदवारी फिर्ता लिनका लागि आइतबार बिहान १० देखि १ बजेसम्मको समय तोकिएको थियो । उम्मेदवारी फिर्ताको समय सकिए लगत्तै दिउँसो १ देखि ३ बजेसम्ममा अन्तिम नामावली प्रकाशन गरिएको थियो ।
यस्तै आइतबार नै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ । दोस्रो चरणमा निर्वाचन हुने १ सय २८ क्षेत्रमा प्रत्यक्षतर्फ ४ हजार ७ सय ४० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । ती मध्ये तनँहु १ मा स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ । दोस्रो चरणको निर्वाचनमा १ करोड ९८ लाख ८ सय ५२ मतदाता सहभागी हुने निर्वाचन आयोगले जनाएको छ ।