जोशीसहित ५ जनाको उम्मेदवारी खारेज, सिलवालको कायम

भक्तपुर न्यूज

१९ कार्तिक २०७४ ५:४६

जोशीसहित ५ जनाको उम्मेदवारी खारेज, सिलवालको कायम

काठमाडौ, १९ कात्तिक । निर्वाचन आयोगले कांग्रेसका नेता गोविन्दराज जोशीसहित ५ जनाको उम्मेदवारी खारेज गरेको छ । आयोगमा परेकामध्ये देशभर ५ जनाको मात्रै उम्मेदवारी रद्द गरिएको हो । पाँच जनाको उम्मेदवारी खारेजसँगै शनिबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको निर्वाचन आयोगले बताएको छ ।

भ्रष्टचारसम्बन्धी मुद्दा किनारा नलागेको भन्दै कांग्रेस बरिष्ठ नेता समेत रहेका सोही क्षेत्रका उम्मेदवार रामचन्द्र पौडेलले दिएको उजुरीका आधारमा आयोगले जोशीको उम्मेदवारी रद्द गरेको आयोगले जनाएको छ । जोशीलाई विशेष अदालतले २०६९ साउन १० मा भ्रष्टाचारी ठहर गर्दै ४ करोड ३२ लाख बिगो र जरिवाना तथा डेढ वर्ष कैद फैसला सुनाएपनि उनले पुनरावेदन दिएका थिए ।

जिल्ला निर्वाचन कार्यालय तनहुँले जोशी सम्बन्धमा निर्णय गर्ने अधिकार दिएपछि निर्वाचन आयोगले उक्त निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले बताए । उजुरीको छानबिन गर्दा जोशी उम्मेदवारका लागि अयोग्य ठहरिएको आयोगले बताएको छ । निर्वाचन आयोगले उजुरीउपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशित समेत गरेको छ । जोशीलाई विशेष अदालतले २०६९ साल साउनमा दोषी ठहर गरेको थियो । विशेष अदालतबाट दोषी ठहरिएकाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार उनको उम्मेदवारी खारेज हुनुपर्ने भन्दै पौडेलले उजुरी दिएका हुन् ।

ऐनको दफा १३ मा उम्मेदवारको अयोग्यताको प्रावधान उल्लेख छ । जोशीले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका छन् । मुद्दाको अन्तिम सुनुवाइ सर्वोच्च अदालतबाट हुन नै रहेको बताईएको छ । विशेष अदालतले २०६९ साउन १० गते जोशीलाई भ्रष्टाचारी ठहर गर्दै ४ करोड ३२ लाख बिगो र जरिवाना तथा डेढ वर्ष कैदको फैसला सुनाएको थियो ।

प्रतिनिधिसभा सदस्यसम्बन्धी ऐन २०७३ को दफा १३ को उपदफा ९घ० मा उम्मेदवारहरूको अयोग्यतासम्बन्धी व्यवस्था गरिएको छ । भ्रष्टाचार, जबरजस्ती करणी वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएकाले उम्मेदवार हुन नपाउने भनिएको छ । नेपालको कानुनले भ्रष्टाचारलाई पनि नैतिक पतन भनेको छ । आफनो उम्मेदवारी खारेजी भएपछि जोशी न्यायका लागी भन्दै सर्वोच्च अदालत जाने भएका छन् ।

यस्तै मोरङ क्षेत्र नं–६ को प्रदेश ९ख० मा राष्ट्रिय जनता पार्टीबाट प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका मोहम्मद नशरुल मियाँको मनोनयनपत्र पनि शनिबार खारेज भएको छ । सो पार्टीबाट आधिकारिक उम्मेदवार मियाँ नरहेको भन्दै यदुवंश साह हलुवाईले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका थिए । मियाँ आधिकारिक उम्मेदवार नभई यदुवंश साह हलुवाइ आधिकारिक उम्मेदवार भएको हुँदा मियाँको उम्मेद्वारी खारेज गरी पाउँ भनेर राजपाका संयोजक महन्थ ठाकुरको हस्ताक्षरसहित पत्र प्राप्त भएपछि उनको मनोनयनपत्र खारेज गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको आयोगले बताएको छ ।

यस्तै रौतहटका भोजेन्द्र ठाकुर लोहार, कास्कीका टीकाराम पंगेनी, नवलपरासी पश्चिमका ऋषिराम पौडेल र मोरङका नसरुल मियाँको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको छ । उनीहरु विरुद्ध आधिकारिकता, बहुविवाह लगायत उजुरी परेका थिए । ललितपुर निर्वाचन कार्यालयले भने बाम गठबन्धनबाट क्षेत्र नम्बर एकमा उम्मेदवारी दिएका पूर्वडीआइजी नवराज सिलवालको उम्मेदवारी कायम राख्ने निर्णय गरेको छ । आयोगमा परेका उजुरीमध्ये उजुरी उपयुक्त नभएको भन्दै सिलवालसहित सिराहाका दिलिपकुमार साह, सर्लाहीका राजकुमार राय र सुनसरीका देवकर्ण पौडेलको मनोनयन कायम राखिएको निर्वाचन आयोगले बताएको छ ।

दोस्रो चरणमा आगामी मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा प्रत्यक्षतर्फ गत बिहीबार मनोनयन दर्ता भएको थियो । मनोनयन दर्ता गरेका ४ हजार ७ सय ८ मध्ये ५ जनाको मनोनयन खारेज भएको हो । उम्मेदवारी दिएका मध्ये ९ जनाविरुद्ध शुक्रबार उजुरी परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *