तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रमुख निर्वाचन आयुक्त
काठमाडौं, १० कार्तिक । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतपत्रको बारेमा सर्वोच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित कार्यक्रमअनुसार नै अघि बढ्ने बताएका छन् ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आज आयोजित निर्वाचन र सुरक्षा विषयक दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुभारम्भ गर्दै उनले भने, ‘समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ, आजैबाट प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ सुरु हुनेछ ।’
डा. यादवले निर्धारित मितिमै निर्वाचन गर्ने सन्दर्भमा पहिलो चरणको निर्वाचनको उम्मेदवारको मनोनयन र निर्वाचन चिन्ह प्रदान भई प्रचारप्रसारको काम सुरु भइसकेको, समानुपातिकतर्फको मतपत्र छाप्ने काम पूरा भएको, दोस्रोचरणको लागि समेत निर्वाचन अधिकृतको कार्यालय खोलिसकिएको हुँदा विश्वासका साथ निर्वाचन सञ्चालन गर्न आयोग अघि बढेकाले अन्यौलको वातावरण नरहेको स्पष्ट गरे ।