कांग्रेसले ३२ जिल्लामा उम्मेद्वारको टुंगो लगायो
काठमाडौँ, ५ कात्तिक । कांग्रेसले आगामी १० मंसिरमा प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने ३२ जिल्लाका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग चुनावी तालमेल गरेर उम्मेदवार टुंगो लगाएको केन्द्रीय सदस्य डा प्रकाशशरण महतले सञ्चारकर्मीलाई जानकारी दिए । उम्मेदवारको टुंगो लगाउन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरु शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए ।
स्रोतका अनुसार कांग्रेससँग चुनावी तालमेल गरेको नयाँ शक्ति नेपालले दुईवटा निर्वाचन क्षेत्र पाएको छ भने राप्रपा प्रजातान्त्रिकले एउटा मात्र निर्वाचन क्षेत्र पाएको छ । नयाँ शक्ति नेपालबाट गोरखा क्षेत्र नं २ र रसुवामा उम्मेदवार रहनेछन् । राप्रपा प्रजातान्त्रिकले पशुपतिशम्शेर राणालाई सिन्धुपाल्चोक–२ मा कांग्रेससँगको तालमेलमा उम्मेदवारी दिने भएको छ ।
राप्रपा र संघीय समाजवादी फोरमले भने प्रदेशसभा सदस्यमा मात्र उम्मेदवारी दिने बताइएको छ । कांग्रेसले जनतामाझ लोकप्रिय तथा निर्वाचनमा जित हासिल गर्न सक्ने कर्मठ, संघर्षशील र त्यागी व्यक्तिलाई उम्मेदवार बनाएको नेता महतले बताए ।