राप्रपाको प्रशिक्षक प्रशिक्षण सम्पन्न
काठमाडौं, १ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम ललितपुरको गोदावरीमा आयोजना भएको थियो ।
प्रशिक्षण कार्यक्रमको उद्घाटनको सोमबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री रहेका राप्रपा अध्यक्ष कमल थापाले गरेका थिए । निर्वाचनसम्बन्धी प्रचारप्रसारका लागि आवश्यक प्रशिक्षणपश्चात् कात्तिक २७ गते देशका ७५ वटै जिल्लामा प्रशिक्षणको लागि प्रशिक्षक खटाइएको छ । कार्यक्रम पार्टी प्रवक्ता एवं प्रशिक्षण समितिका संयोजक भुवन पाठकले समापन गरेका छन् ।
पार्टीको सैद्धान्तिक पक्ष, आगामी निर्वाचनको तयारी, संगठन निर्माणको रणनीतिलगायतका विषयमा केन्द्रित प्रशिक्षणमा पार्टी अध्यक्ष कमल थापा, प्रवक्ता भुवन पाठक, केन्द्रीय सदस्य एवं समितिका सदस्य सचिव रमानन्द न्यौपाने, केन्द्रीय सदस्य डा। विष्णु भण्डारी, केन्द्रीय सदस्य डा। भीमसेन गुरुङ र एनडीआईका प्रतिनिधिहरुले विविध विषयमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा देशका विभिन्न जिल्लाहरूबाट ६० जनाको सहभागिता रहेको राप्रपा बाँकेका प्रचार प्रमुख श्रीधर सुवेदीले जानकारी दिए । प्रशिक्षणका सहभागीहरुले प्रशिक्षण अत्यन्तै उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन् । केन्द्रीय प्रशिक्षण समितिले सहभागी सम्पूर्ण व्यक्तिहरुलाई आगामी कात्तिक २७ गते देशका विभिन्न जिल्लाहरुमा खटाएर एकैपटक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रम एनडीआईको सहयोगमा भएको थियो ।