थप १५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिदैं
काठमाडौँ, १ कात्तिक । सरकारले चालु आर्थिक बर्ष भित्र थप १५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ । अहिलेसम्म २२ वटा जिल्लामा यो कार्यक्रम शुरु भएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने सरकारी निकाय सामाजिक स्वस्थ्य सुरक्षा विकास समितिका अनुसार आगामी असारसम्म भोजपुर, खोटाङ, सिरहा, रामेछाप र रौतहटमा यो कार्यक्रम शुरु गर्ने तयारी भएको छ ।
त्यसैगरी कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रुकुम र डोल्पा पनि बीमा कार्यक्रम लागू हुने जिल्लामा छनौट भएका छन् । यस्तै कालिकोट, मुगु, हुम्ला, बाजुरा र बझाँङ पनि यसैबर्ष देखि बीमा कार्यक्रम लागू हुनेछ । समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले अब लागू हुने जिल्लाहरु मध्ये कतिपयमा गरीबी पहिचान भइसकेको भन्दै ती जिल्लाहरुका गरीब परिवारले सहुलियत दरमा बीमा आवद्ध हुन सक्ने बताए ।
‘यो कार्यक्रमले जिल्लाका स्वास्थ्यसंस्थाको अवस्थामा निकै सुध्रिड पार्न सहयोग गर्छ । नियमित स्वास्थ्य परीक्षण भईरहँदा नयाँ रोग लाग्ने सम्भावना पनि न्युन भएर जान्छ । र मुख्य गरी स्वास्थ्य चेतना विस्तार गर्छ,’ डा। लोहनीले भने ।
सरकारले सिन्धुली , गोरखा, तनहुँ, बाग्लुङ, रोल्पा, बर्दिया, जुम्ला, अछाम, कैलाली लगायतका जिल्लाहरुको गरीबी पहिचान गरिसकेको छ । ती जिल्लाहरुमा अब छिटै गरीबी परिचय पत्र वितरणको तयारी गरेको छ । नेपालमा स्वास्थ्य बीमा कार्यक्रम डेढ बर्ष अघि अर्थात २५ चैत २०७२ मा कैलालीबाट शुरु भएको थियो । अहिलेसम्म गठन आदेशमार्फत सञ्चालित यो कार्यक्रम अब भने ऐन मार्फत शुरु हुनेछ ।
गत साता व्यवस्थापिका संसदबाट स्वास्थ्य बीमा सम्वन्धी व्यवस्था गर्न बनेको विधेयक पास भईसकेपछि बीमा ऐनको आधारमा कार्यक्रम अघि बढाउन बाटो खुलेको हो । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलको संक्रियतामा स्वास्थ्य बीमा विधेयक संसदले पास गरेको थियो । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलको विशेष संक्रियतामा यो विधेयक पास भएको थियो ।