आज सकिदैं संसदको अवधी बाटो खर्च लिएर बिदा हुँदै सांसद
काठमाडौं । ०७२ साल १५ असोजमा संविधानसभाको रूपान्तरित व्यवस्थापिका–संसद्को अवधि आज शनिबार समाप्त हुँदै छ । संसद्को अवधि समाप्तिसँगै ५ सय ९२ सांसद शनिबार मध्यरातीबाट भूतपूर्व हुने भएका छन् ।
संसद्को नियमित बैठक शुक्रबार अन्तिम हुने भए पनि शनिबार विशेष बैठक राखी सांसदलाई बाटो खर्च दिएर बिदाई गर्ने कार्यक्रम रहेको छ । सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरूसँगको छलफलपछि शनिबार अपरान्ह संसद्को विशेष बिदाई बैठक राखिएको सभामुखका प्रेस सल्लाहकार बबिन शमाले बताए ।
शनिबारको अन्तिम बैठकलाई सभामुख र शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । निर्वाचन आयोगले २९ असोजमा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्ने समय तोकेकाले २८ असोजको मध्यरातीदेखि संसद्को समयावधि अन्त्य हुने संसद् सचिवालयका प्रवक्ता डा।भरतराज गौतमले जानकारी दिए ।
निर्वाचनको कार्यतालिका नआउँदा ४ कात्तिकमा संसद् अन्त्य हुने भनिएको थियो । तर, संविधानले उम्मेदवारी मनोनयनसँगै संसद्को अवधि अन्त्य हुने भनेकाले समानुपातिक उम्मेदवारी मनोनयनलाई नै आधार मानेका हुन् । शुक्रबार संसद्कोे अन्तिम बैठक बसेको थियो । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक र भाषा आयोगसम्बन्धी विधेयकलाई कार्यसूचीमा राखिएको थियो । त्यस्तै प्रदेश प्रमुखको पारिश्रमिक व्यवस्थासम्बन्धी विधेयक पनि बैठकले पारित गर्ने कार्यसूचीमा थियो ।