चुनावको मिति हेरफेर नगर्न सरकारलाई एमालेको चेतावनी
काठमाडौं, २४ असोज । सरकारले आगामी मंसिर १० र २१ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सार्ने तयारी गरिरहेको भनिएको बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा जोड दिएको छ ।
आज सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको स्थायी कमिटी बैठकले तोकिएकै मितिमा प्रदेश सभा र प्रतिनिधि सभा चुनाव हुनुपर्नेमा जोड दिएको हो ।
निर्वाचनको मिति हेरफेर गर्ने काम संविधान, कानुन र निर्वाचन आचारसंहिताले पनि नदिने हुनाले त्यसो नगर्न सरकारलाई सचेत गराउनु परेको पार्टीका उपाध्यक्ष भीम रावलले बताए ।
आगामी मंसिर १० र २१ गते दुवै तहको निर्वाचन सम्पन्न नभए मुलुक अनिश्चयको भूमरीमा फस्ने एमालेको ठहर छ ।
बैठकले बाम गठबन्धनबीच भएको सहमतिअनुसार छिट्टै सिटहरुको बाँडफाँड गर्ने निर्णय गरेको छ । यस्तै, असोज २७ र २८ गते बस्ने स्थायी समिति बैठकले एमालेका सबै समानुपातिकका उम्मेदवारको नाम टुंगो लगाएर निर्वाचन आयोगमा बुझाउने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै, बाम गठबन्धनको एकताका साथै अरु ध्रुवीकरणलाई निरन्तरता दिने, चुनावी माहोल तताउन देश र प्रवासमा अभियान चलाउने निर्णय समेत बैठकले गरेको छ ।