डेंगु नियन्त्रणका लागि ‘सर्च एन्ड डिस्ट्रोई’ अभियान

भक्तपुर न्यूज

२२ असोज २०७४ ५:१६

डेंगु नियन्त्रणका लागि ‘सर्च एन्ड डिस्ट्रोई’ अभियान

काठमाडौं, २२ असोज । सरकारले डेंगु प्रभावित विभिन्न जिल्लामा ‘सर्च एन्ड डिस्ट्रोई’ अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत डेंगुको संक्रमण देखिएका जिल्लामा टोली खटाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

पछिल्लो समय मौसममा आएको परिवर्तनसँगै धादिङ, सर्लाही र महोत्तरीका विभिन्न स्थानमा डेंगु रोगको संक्रमण भेटिएको छ । रोगको प्रकोप देखिएको क्षेत्रमा स्थानीय जनप्रतिनिधिको सहकार्यमा अहिले लामखुट्टे मार्ने अभियान सञ्चालन भइरहेको महाशाखाअन्तर्गत महामारी व्यवस्थापन प्रमुख डा। गुननिधि शर्माले जानकारी दिए ।

टोलीले संक्रमित क्षेत्रमा लामखुट्टे निर्मूल पार्नका लागि सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेका छन् । धादिङमा जिल्ला अस्पतालसँगको सहकार्यमा डेंगु नियन्त्रणका लागि सर्च एन्ड डिस्ट्रोई अभियान सञ्चालन गरेको छ । सदरमुकाम आसपासका क्षेत्रमा लामखुट्टे बस्ने स्थानहरूको पहिचान गरी लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको जनाइएको छ । उक्त क्षेत्रमा लामखुट्टे अत्यधिक भेटिनुका साथै बिरामीको संख्या पनि बढी पाइएपछि स्थानीयवासीले सरसफाइ अभियानसमेत सुरु गरेका छन् ।

प्रभावित क्षेत्रमा करिब ९० प्रतिशत घर अगाडि पानी जम्ने गरेका कारण डेंगु फैलाउने लामखुट्टे बढेको जिल्ला जनस्वास्थ्य धादिङले जनाएको छ । यस्तै, सर्लाहीको लालबन्दी र महोत्तरीको बर्दिबास लगायतका डेंगु प्रभावित क्षेत्रमा पनि अभियान सञ्चालन गरिएको महाशाखाले जनाएको छ ।

डेंगुको प्रकोप देखिएका उक्त क्षेत्रमा अहिले स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको सहकार्यमा लामखुट्टे खोजी तथा नष्ट गर्ने काम भइरहेको जनाइएको छ । पछिल्लो केही महिनायता फैलिएको डेंगु ३ सय ५० भन्दा बढीमा देखा परेको महामारी व्यवस्थापन प्रमुख शर्माले जानकारी दिए ।

यो रोग केही समयअघि चितवनलगायत तराईका अन्य जिल्लामा पनि देखिएको थियो । विशेषगरी तराईका क्षेत्रमा देखिने यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । एडिज नामक पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने यो रोग पछिल्लो समय भने पहाडी जिल्लामा पनि प्रकोपकै रूपमा देखिन थालेको छ ।

काठमाडांै उपत्यकामा पनि यो रोगको जोखिम रहेको भन्दै सतर्कता अपनाउन जरुरी रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च प्रमुख डा। शेरबहादुर पुन बताउँछन् । उपत्यकामा पनि अत्यधिक रूपमा लामखुट्टे आउने भएकाले सावधानी अपनाउन उनको सुझाव छ ।

यद्यपि, डेंगु रोगको नियन्त्रणका लागि सर्च एन्ड डिस्ट्रोई अभियान भने त्यति प्रभावकारी नदेखिएको पुनको भनाइ छ । ‘लामखुट्टे खोजेर मार्ने अभियान म त्यति प्रभावकारी देख्दिनँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *