हेल्मेट लगाएर चिकित्सक उपचारमा
काठमाडौं, १९ असोज । सरकारले सुरक्षाको ग्यारेन्टी नगरेको र दोषीलाई कारबाही गर्ने उचित कानुन नबनाएको भन्दै देशभरका चिकित्सकले हेल्मेट लगाएर बिरामीको उपचार गर्न थालेका छन् । चिकित्सकले हेल्मेट लगाएर उपचार गरेको देख्दा बिरामी आश्चर्यमा परेका छन् । बुधबार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले सुरक्षित रहनुपर्ने अवस्था सिर्जना भएको भन्दै आकस्मिक लगायत सबै उपचार गर्दा हेल्मेट लगाएका हुन् ।
सरकार र नेपाल मेडिकल एसोसिएसन एनएमएबीच भएको सम्झौता व्यावहारिक नभएको भन्दै लामो समयदेखि आन्दोलित चिकित्सकले यसअघि एक सातासम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका थिए ।
सेवा ठप्प पार्दा बिरामी नै मर्कामा परेको भन्दै उनीहरू काममा फर्किए पनि आन्दोलन जारी रहेको घोषणा गरेका थिए । वीर अस्पतालमा कार्यरत डा कालुसिंह खत्रीले उपचारका क्रममा बिरामीपक्षबाटै असुरक्षित भएको र सुरक्षा दिन सरकारले चासो नलिएकाले आफूहरूले हेल्मेट लगाएर उपचार गर्न थालेको बताए ।