बाम गठबन्धनको प्रभाव: कांग्रेसले पनि थाल्यो एकताको प्रयास
काठमाडौं, १८ असोज । चुनावाको मुखमा एमाले र माओवादी केन्द्रको नयाँ चुनावी गठबन्धन बनेपछि कांग्रेसले पनि लोकतान्त्रिक शक्तिसँग तालमेल र पार्टी एकतासम्मको प्रयास गर्ने तयारी थालेको छ । बाम गठबन्धनको घोषणा भएको दिनबाटै कांग्रेसले तालमेल र पार्टि एकताको प्रयास सुरु गरेको हो । त्यसका लागि प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायतका नेताहरुले विभिन्न दलका नेताहरुलाई भेटेर कुराकानी गरिसकेका छन् । कांग्रेस नेता प्रकाशमान सिंहले लोकतान्त्रिक प्रजातान्त्रिक शक्तिबीच तालमेल र एकताबारे पहल भइरहेको बताए ।
सत्ता सहयात्री दल माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेलदेखि पार्टी एकता सम्मको सहमति गरेपछि नेपाली कांग्रेस तालमेलदेखि भावी रणनीति तय गर्न लागेको हो । सहयात्री दल नै विपक्षीसँगको गठबन्धनमा लागेपछि ‘असहज’ महशुस गरेको कांग्रेसले उक्त गठबन्धनलाई अस्वभाविक गठबन्धनको संज्ञा दिइसकेको छ । यद्यपी कांग्रेस नेता डा प्रकाशसरण महतले एमाले–माओवादी गठबन्धनले कांग्रेसलाई थप उर्जा मिलेको प्रतिकृया दिए । डा महतले भने, ‘यो घटनाले नेपाली कांग्रेसलाई थप बलियो बनाउने अवसर मिलेको छ ।’
बाम गठबन्धनपछि दुर्घटनाको संघारमा पुगेको कांग्रेस बलियो बन्नलाई अवसर मिलेको पनि नेता महतले बताए । उनले भने, ‘ नेपाली कांग्रेस फुटको संघारमा पुगेको थियो, अव यो घटनाबाट पाठ सिक्दै कांग्रेस आन्तरिक रुपमा बलियो र एकताबद्ध हुनेछ ।’ पछिल्लो राजनीतिक धु्रविकरणपछि कांग्रेसले आकस्मिक बैठक नै बोलाएको छ । बुधबार ११ बजेका लागि बोलाइएको कार्यसम्पादन समिति बैठकमा छलफल गरेर आफ्नो रणनीति तय गर्ने उसले जनाएको छ ।