असोज १९ गते काँग्रेसको चियापान
काठमाडौं, ३ असोज । नेपाली काँग्रेसले बडा दसैँ, तिहार लगायतका चाडपर्वका अवसरमा आउँदो असोज १९ गते शुभकामना चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।कोजाग्रत पूर्णिमाको दिन नेपाली काँग्रेस केन्द्रीय कार्यालय बीपीनगर सानेपामा दिउँसो १ बजेदेखि ४ बजेसम्म चियापान आयोजना गरिने काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर जननायक बीपी कोइराला आठवर्षे प्रवास परित्याग गरी स्वदेश फर्केपछि उनले कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना आरम्भ गरेको शुभकामनालाई यस वर्ष पनि काँग्रेसले निरन्तरता दिन लागेको हो ।
उक्त कार्यक्रममा भाग विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि तथा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको मुख्यसचिव पौडेलले बताए ।
काँग्रेसले गत वर्ष पार्टीका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनका कारण चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको थिएन ।