प्रधानमन्त्री देउवा भोली , महरा आज न्यूयोर्क प्रस्थान
काठमाडौं, २ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन यही असोज ३ गते २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री देउवाले यही सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । ‘जनतामा केन्द्रीतःदिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवननिम्ति प्रयास’ भन्ने मूल विषयका साथ महासभाको उच्चस्तरीय छलफल यही १९ सेप्टेम्बरदेखि सुरू हुँदैछ । महासभाको दौरान न्यूयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रिपति मैत्रीपाला सिरिसेना, बंगलादेशका राष्ट्रपति सेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्नैछन् ।
सोही दिन प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए । प्रधानमन्त्री देउवाले सेप्टेम्बर २२ मा इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री देउवाले त्यहाँका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई निर्देशनसमेत दिनाका साथै २२ सेप्टेम्बरमा न्यूयोर्कस्थित राष्ट्र संघ स्थायी नेपाली नियोगले संविधान दिवसका अवसरमा आयोजना गर्ने स्वागत समारोहमा प्रमुख आतिथ्यता ग्रहण गर्नेछन् । त्यसैगरी उनी न्यूयोर्कका नेपालका महावाणिज्यदूतले २३ सेप्टेम्बरमा नेपालको संविधान दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रममा समेत सहभागी हुने मन्त्रालयले जनाएको छ ।
प्रधामन्त्री देउवा महासभामा भाग लिइसकेपछि २४ सेम्टेम्बरमा ओमनको मस्कटका लागि प्रस्थान गर्नेछन्, त्यहाँ उनले खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका बारेमा निर्देशन दिने कार्यक्रम छ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर मस्कटबाट नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनेछन् ।