प्रमुख सात दलले गरे नौ उल्लङ्घन, आजित भयो निर्वाचन आयोग
काठमाडौं, २९ भदौ । सत्तारुढ तथा प्रमुख विपक्षी दलले सबैभन्दा बढी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेपछि निर्वाचन आयोग नै आजित भएको छ । पटक पटक आचारसंहिता पालना गर्न सचेत गराउँदा पनि प्रमुख दलहरु नै अटेरी भएपछि आयोगले कारबाही गर्ने हिम्मत गरेको छ । आयोगले आचारसंहिता पालना गर्ने आग्रह गर्ने र पालना नगरिए कारबाही गर्ने भनी केवल चेतावनीयुक्त विज्ञप्ति बाजी गर्दै आएको छ ।
आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागिसमेत आयोगले आचारसंहिता लागू गरिसक्दा प्रमुख राजनीतिक दलहरुले यहि असोज २ गते हुन लागेको निर्वाचनका लागि आचारसंहिता पालना गरेका छैनन् । प्रमुख दलहरुलाई पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि निर्वाचन आयोगले प्रमुख सात राजनीतिक दललाई आचारसंहिता पालना गर्न गराउन छुट्टाछुट्टै पत्र पठाएको छ ।
आयोगले बुधबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई छुट्टाछुट्टै पत्र पठाई आचार संहिताको पूर्ण पालना गर्न÷गराउन आग्रह गरेको आयोगले जनाएको छ ।