उपकुलपति खनियाँमाथि बौद्धिक चोरीको आरोप
काठमाडौं,२७ भदौ । त्रिभुवन विश्वविद्यालय उपकुलपति नियुक्त भएलगत्तै तीर्थ खनियाँ बौद्धिक चोरीको आरोपमा मुछिए। उनले टर्कीका भाषाविद् फेरित किलाकायाको एउटा लेखबाट ५३ पंक्ति हुबहु सारेको तथ्य सार्वजनिक भएको छ ।
खनियाँ २०७२ भदौमा त्रिवि उपकुलपति नियुक्त भएका हुन्। बौद्धिक चोरीको आरोपबाट सुरु भएको कार्यकालमा खनियाँबाट अरू पनि यस्ता काम भएका छन्, जसले त्रिविको साख गिराएको छ।
यसको पछिल्लो उदाहरण काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन प्रकरण हो। भौतिक तथा प्राज्ञिक पूर्वाधार पूरा नगरेको काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएपछि खनियाँ विवादित छन्। काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाउने व्यवस्थासहितको चिकित्सा शिक्षा विधेयक संसदमा विचाराधीन रहेकै बेला उनले उक्त कलेजलाई सम्बन्धन दिने निर्णय गरेका थिए।
डा। गोविन्द केसीको एघारौं अनसनबीच भएको सम्बन्धन निर्णयले केसीको सत्याग्रह आन्दोलनकै अवमूल्यन गरेको थियो। चौतर्फी दबाब र प्रधानमन्त्री तथा त्रिवि कुलपति शेरबहादुर देउवाले ‘त्रिविको उक्त निर्णयबाट सरकारकै बद्नामी भएको’ भन्दै चेतावनी दिएपछि उनले कार्यकारी परिषद बैठक डाकेर सम्बन्धन खारेज गराएका थिए। त्रिवि अन्तर्गतका संस्थानहरूको अधिकार खोस्ने काम पनि खनियाँकै कार्यकालमा भएको छ।