२ नम्बर प्रदेशमा २८ हजार २९८ जनाले उम्मेदवारी दर्ता
काठमाडौं, २२ भदौ । प्रदेश नं २ का आठ जिल्लामा हुने स्थानिय तहको निर्वाचनका लागि अहिलेसम्म २८ हजार २९८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । असोज २ गते हुने निर्वाचनका लागि प्रदेश नं. २ मा १३६ स्थानीय तहका विभिन्न पदमा हुने चुनाव हुने छ । आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज दिउँसो १२ः३० बजेसम्म प्राप्त विवरणअनुसार प्रमुख/अध्यक्ष पदमा एक हजार ५१०, उपप्रमुख/उपाध्यक्ष पदमा ९७५, वडाध्यक्ष पदमा ६ हजार २८० जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
खुल्ला सदस्य दुई पदमा १० हजार ५१९, महिला सदस्यमा चार हजार ७४८ र महिला दलित सदस्यमा चार हजार २६६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । उम्मेदवारी दर्तासम्बन्धी विवरण आउने क्रम जारी नै रहेको आयोगले जनाएको छ ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता कार्य हिजो उत्साहजनक र शान्तिपूर्ण सम्पन्न भएको थियो ।