सरकारी चिकित्सकले निजी क्लिनिक चलाउन नपाउने
काठमाडौं, २२ भदौ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन नगर्न निर्देशन दिएका छन् । जनकपुर अञ्चल अस्पतालको निरीक्षणमा पुगेका मन्त्री पोखरेलले चिकित्सक तथा व्यवस्थापन समितिका पदाधिकारीसँग अन्तक्र्रिया गर्दै सरकारी चिकित्सकहरुलाई निजी क्लिनिक नचलाई दिन निर्देशन दिएका हुन् । उनले भने, ‘निजी क्लिनिक नचलाई दिनुस्, यो दबाब होइन तर राष्ट्रिय आवश्यकता हो, स्वास्थ्य क्षेत्रमा सुधार गर्न यो अनिवार्य छ ।”
जनकपुर अञ्चल अस्पतालबारे निकै गुनासो आएपछि स्वास्थ्यमन्त्री पोख्रेलले डा रामपरीक्षण यादवलाई मेडिकल सुपरिटेन्डेन्ट मेसु बाटहटाइ दुई साताअघि मात्र नियुक्त गरेका मेसु डा। कल्पना बछारलाई लक्षित गर्दै भने, – “निजी क्लिनिक बन्द गर्ने कामको शुरुवात मेसुबाटै हुनुपर्दछ । आफै निजी क्लिनिक सञ्चालन गर्नेले अरुलाई निर्देशन दिनसक्दैन । त्यसैले मेसुले अबिलम्व निजी क्लिनिक बन्द गर्नुपर्दछ ।”
बिरामीको अत्याधिक चाप रहने यस अस्पताल सुधार गर्नुपर्नेमा जोड दिंदै उनले अब हामीले क्षेत्रीय होइन, प्रान्तीय दृष्टिकोणले नीति बनाउनुपर्ने र यहाँ रहेका क्षेत्रीय प्रयोगशालालाई प्रान्तीय प्रयोगशालाको रुपमा विकसित गर्नुपर्ने धारणा व्यक्त गरे । विगत करिब दुई वर्षदेखि सञ्चालन हुननसकेको यस अस्पतालको आइसीयु सेवा शीघ्र सञ्चालन हुने बताउँदै उनले सरकारी अस्पताल र स्वास्थ्य केन्द्रको व्यवस्थापनमा संवेदनशील भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।