भोट सुरक्षित गर्न देउवाको सडक राजनीति
काठमाडौं १६ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौंथो पटक प्रधानमन्त्री भएपछि पनि उनको ध्यान सुदूरपश्चिममै रहेको छ । डडेलधुराको अति विकट गाउँ रुवाखोलामा जन्मिएर राष्ट्रिय राजनीतिमा आएका देउवाको ज्यान काठमाडौं भए पनि उनको ध्यान भने सुदूरपश्चिमतिर हुने गर्दछ । सुदूरपश्चिमको अतिविकट डडेलधुराको साविकको असिग्राम गाविसको रुवाखोलामा जन्मिएका देउवाले ४८ सालदेखि अहिलेसम्म पनि संसदीय निर्वाचनमा पराजय हुनुपरेको छैन ।
खासगरी देउवाले आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रमा विकाश निर्माणमा ध्यान दिएकै कारण जिल्लावासीको हाइहाइ भएका हुन् । ०४८ को तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्को गृहमन्त्री बनेका देउवा ०५२ देखि हालसम्म चार पटक प्रधानमन्त्री भइसकेका छन् ।
०४० तिर डडेलधुरा हुँदै बैतडीको सतबाँझ सडक पुगेको सडक डडेलधुराको भात्काँडा हुँदै डोटी जाने सडक बनेको थियो । विकासको कडी भनेकै सडक भएकाले सडक निर्माणमा ध्यान दिइयो । धनगढी–डडेलधुरा भीमदत्त राजमार्ग, डडेलधुरा–डोटी केआई सिंह राजमार्ग कालोपत्रे गरियो ।
पछिल्लो समय माओवादी कांग्रेस गठबन्धन सरकारकै पालामा कांग्रेस नेता रमेश लेखक भौतिक योजनामन्त्री भएपछि अधुरा र काम हुन नसकेका दर्जनौं सडक निर्माणलाइ तीव्रता दिएका थिए ।
अत्तरियादेखि धनगढीसम्मको सडक ६ लेन सडक निर्माण तथा भारतको दुदवा नेशनल पार्क छेउको डोके बजारदेखि महेन्द्रनगर जोड्ने हुलाकी सडक निर्माण कार्य भइरहेको छ । विहीबार मात्रै प्रधानमन्त्री देउवाले महाकाली नदीमा निर्माण गर्न लागिएको चार लेनको पक्की पुलको उद्घाटन गरेका छन् । सुदूरपश्चिमको विकाशमा जोड दिएर देउवाले आफ्नो भोट सुरक्षित गरेको आलोचकहरु बताउँछन् ।