एमाले वरिष्ठ नेता नेपाललाई २४ घण्टे स्पष्टीकरण माग
काठमाडौं, १४ भदौ । निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री समेत रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालाई २४ घण्टे स्पष्टिकरण दिन निर्देशन दिएको छ । आयोगले निर्वाचन आचारसंहिता विपरीत पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाई प्रचारप्रसारमा संग्लन भएको भन्दै नेपालसँग २४ घण्टे स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जनाएका छन् ।
असोज २ गते प्रदेश नम्बर २ अन्र्तगत तराईका ८ जिल्लामा हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा बीरगञ्जमा सोमबार घरदैलो कार्यक्रममा नेता नेपालसहितका नेता तथा कार्यकर्ताले पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाएको उजुरीपछि आयोगले यस्तो निर्णय गरेको हो । आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
आयोगको निर्णयमा भनिएको छ– ‘‘निर्वाचन आचारसंहिताविपरीत पार्टीको चुनाव चिन्ह अंकित टोपी लगाई चुनावी प्रचार प्रसारमा संलग्न पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता श्री माधवकुमार नेपाल तथा नेकपा एमाले लाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेउपर कारबाही किन नगर्ने भन्नेसम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने ।’’
यस्तै, राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामबाबु सिंहलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय गरेको छ । आयोगले महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं। ५ मा राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामबाबु सिंहको नेतृत्वमा करिब १०० वटा मोटरसाइकलमा झण्डै २ सयको संख्याले पार्टीको प्रचारप्रसार ¥याली निकालेको भन्दै सिंहलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको प्रवक्ता शर्माले जनाएका छन् ।
यस्तै, राष्ट्रिय जनता पार्टीलाई जनकपुरको सभामा पुगेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध लक्षित गरी कालो झण्डा देखाउनुका साथै ढुंगा प्रहारसमेत भएको भन्ने जानकारी प्राप्त भएको भन्दै सचेत गराएको छ ।