तेस्रो चरणको निर्वाचनमा अझै उम्मेदवार चयन भएनन्

भक्तपुर न्यूज

९ भदौ २०७४ २:१४

तेस्रो चरणको निर्वाचनमा अझै उम्मेदवार चयन भएनन्

काठमाडौं, ९ भदौ । साउनभित्रै उम्मेदवार चयन गरेर निर्वाचनमा होमिने दाबी गरे पनि कांग्रेसले प्रदेश नम्बर २ मा अझै उम्मेदवार चयन गर्न सकेको छैन । पहिलो र दोस्रो चरणको निर्वाचनमा बेहोरेको हारबारे समीक्षा गर्दै कांग्रेसले तेस्रो चरणको निर्वाचनका लागि साउनभित्रै उम्मेदवार टुंग्याउने बताउँदै आएको थियो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पाँचदिने भारत भ्रमणमा रहेका वेला दोस्रो तहका नेताहरू दिनहुँ उम्मेदवारको टुंगो लगाउन बसे पनि निष्कर्षमा पुगेका छैनन् । सभापति भारतबाट फर्किएपछि मात्रै कांग्रेसले उम्मेदवार टुंगो लगाउने संकेत दिएको छ ।
‘साउनभित्रै उम्मेदवार चयन गरी २ असोजका लागि प्रभावकारी रणनीति बनाउने तयारीमा थियौँ,’ नेता रमेश रिजालले नयाँ पत्रिकासँग भने, ‘बाढी र डुबानका कारण केही ढिलाइ भएको छ । तर, अब ११–१२ भदौसम्म उम्मेदवारी टुंग्याइसक्छौँ ।’
तर, कांग्रेसले परिपत्र गरेअनुसार जिल्लाबाट उम्मेदवारको सिफारिससमेत आउन सकेको छैन । आएका सिफारिस पनि विवादित बनेपछि समस्या भएको छ । क्षेत्रीय सभापतिको सिफारिसमा जिल्ला हुँदै आउनुपर्ने सूची कहीँ क्षेत्र र कहीँ जिल्लाबाट आएका छन् । क्षेत्र र जिल्लाको सूची नै फरक आएपछि महामन्त्री, कोषाध्यक्षसहितका पूर्वपदाधिकारी, प्रदेश नम्बर २ का केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापतिसहितका नेताको भेला दिनहुँजस्तो बसे पनि उम्मेदवार टुंगो लागेको छैन ।
मुख्यगरी नगरपालिकामा उम्मेदवार चयन गर्न कांग्रेसलाई गाह्रो परेको छ । कतिपय क्षेत्रबाट आएका सिफारिसमा जिल्लामा रहेका नगरपालिकाबाट मेयरमा एकभन्दा बढीको नाम आएको छ । दोस्रो चरणको निर्वाचनअघिदेखि नै केही निर्वाचन क्षेत्रबाट उम्मेदवारी चयनको प्रतिवेदन पार्टी केन्द्रमा आउँने क्रम सुरु भएको थियो । तर, निर्वाचन सरेपछि यो क्रम रोकिएको थियो ।

वीरगन्ज महानगरमा कांग्रेसले अजय द्विवेदीलार्ई मेयरमा उठाउने सम्भावना बढी छ । तर, टुंगो लागिसकेको छैन । धनुषाको जनकपुर, सप्तरीको राजविराज, बाराका दुई उपमहागरपालिकासहितका नगरपालिकामा आकांक्षी धेरै हुँदा उम्मेदवार टुंग्याउन सकस परेको छ ।

कांग्रेसले आफ्नो पकड कम भएका पूर्व–पश्चिम राजमार्गआसपासका २० वटा तहमा तालमेल गर्ने तयारी गरेको छ । ‘खासगरी हामी कमजोर रहेको ठाउँमा तालमेल गर्ने पक्षमा छौँ,’ रिजालले भने, ‘अहिलेसम्मको तयारी माओवादी केन्द्रसँग तालमेल गर्नुपर्छ भन्नेमा छ ।’ पहिलो र दोस्रो चरणको निर्वाचनमा उम्मेदवार दिएपछि तालमेल गर्दा प्रभावकारी नभएको निष्कर्ष निकाल्दै कांग्रेसले यसपटक उम्मेदवारी चयनअघि नै तालमेल गर्ने नीति लिएको छ । २१ भदौमा उम्मेदवारी मनोनयन गर्ने समय तोकिएको छ ।

एमालेले प्रदेश नं। २ का दुईतिहाइ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । वैकल्पिक पोलिटब्युरो सदस्य शत्रुधन महतोका अनुसार २ असोजमा हुने स्थानीय निर्वाचनका लागि धनुषाबाहेक सात जिल्लामा पार्टीले उम्मेदवार टुंग्याएको छ । स्थायी समितिको निर्देशनअनुसार बाँकी उम्मेदवार १२ गतेभित्र प्रदेश संगठन कमिटीको बैठकबाट टुंगो लगाइने महतोले बताए । ‘अहिलेसम्म ८० भन्दा बढी स्थानीय तहमा उम्मेदवारको टुंगो लागिसकेको छ, बाँकी उम्मेदवार पनि निर्देशनअनुसार १२ गतेभित्र टुंग्याइसक्छौँ,’ उनले भने ।
एमालेले सिरहाको लहान नगरपालिकासहित १७ वटै तहमा उम्मेदवार टुंगो लगाएको छ । सप्तरीका १७ वटा तहमा पनि उम्मेदवार छनोट भइसकेका छन् । महोत्तरीका १६ तहमध्ये ८, सर्लाहीका १८ मध्ये ९, रौतहटका १५ मध्ये १४, पर्साका १६ मध्ये १३, बाराका १५ मध्ये ७ तहमा उम्मेदवार छनोट भइसकेको नेता महतोले बताए । वीरगन्ज महानगरपालिकामा एमालेले बसरुद्दिन अन्सारीलाई मेयरका रूपमा अघि सारेको छ । तर, बाराको कलैया र जितपुर उपमहानगरपालिकामा भने एमालेले अझै मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाएको छैन । धनुषाका १८ वटै तहमा एमालेले उम्मेदवार टुंगो लगाएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *