राप्रपाले बोलायो आकस्मिक बैठक

भक्तपुर न्यूज

६ भदौ २०७४ ४:१८

राप्रपाले बोलायो आकस्मिक बैठक

काठमाडौं, ६ भदौ—कमल थापा नेतृत्वको राप्रपाले पदाधिकारी, संसदीय दल र कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ । बैठक अहिले ९ बजे पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । सोमबार व्यवस्थापिका संसद बैठकमा १८ सांसद अनुपस्थित भएर पार्टीको ह्वीप उलंघन गरेको भन्दै यसबारे छलफल गर्न बैठक बोलाइएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

सोमबार संसदमा राप्रपाका १९ जना मात्रै उपस्थित भइ संविधान संशोधन विधेयकको विपक्षमा मतदान गरेका थिए । तर पार्टीले अनिवार्य संसद बैठकमा उपस्थित भई संशोधनको विपक्षमा भोट हाल्न ह्वीप जारी गरेको थियो । अनुपस्थित हुने र ह्विप उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने राप्रपाले जनाएको छ ।

सोमबारको संसद बैठकमा कमल थापा, जयन्त चन्द, दिलनाथ गिरी, विक्रम बहादुर थापा गंगाप्रसाद यादव , कुन्ती कुमारी शाही, भाष्कर भद्रा दिनेश श्रेष्ठ ,सुशील श्रेष्ठ, परशुराम तामाङ, राजेश्वरी देवी, लिला श्रेष्ठ, भक्त बहादुर खपाङ्गी श्यामसुन्दर टिवडेवाल, राजकुमार अग्रवाल, राम दुलारी चौधरी, श्री कान्ति पासी, गणेश थापा र कान्ता भट्टराई सहभागि थिए । बैठकमा सहभागि नभएका १८ सांसद पशुपति शमशेर राणा पक्षमा लागेको बताइएको छ । राणाले गत साउन २२ गते पार्टी विभाजन गरी निर्वाचन आयोगमा नयाँ पार्टी राप्रपा प्रजातान्त्रिकको मान्यता दिन निवेदन दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *