बाढीपीडितको जीवन कष्टकर, करोडौंको जस्तापातामा अलपत्र
काठमाडौ, ३ भदौ । केही दिनअघि परेको अविरल बर्षातका कारण आएको बाढीपहिरोमा परी विस्थापीत भएका नागरिकको अबस्था कष्टकर बन्दै गएको छ । उनीहरु मुसलधारे वर्षापछिको प्रचण्ड गर्मीमा खुला आकाशमुनि दिनरात कटाउन बाध्य भएका छन् । तर करोडौं मूल्यको जस्तापाता भने नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको गोदाममा खिया लागेर त्यै थन्किएको छ ।
साल्ट ट्रेडिङले निजी बैंकहरुबाट शतप्रतिशत ऋण लिएर खरिद गरेको जस्तापाताको अहिले व्याज नै ६ करोड रुपैयाँ पुगिसकेको छ । गोदाम भाडा पनि पाँच लाख नाघिसकेको छ । उक्त मूल्य समायोजन गर्दा धेरै महँगो पर्ने भएकाले बजारमा निकाल्न नसकिएको साल्ट ट्रेडिङले कर्पोरेशनले बताएको छ । साल्ट ट्रेडिङले व्याज र भाडा मिनाहाका लागि अर्थ मन्त्रालयलाई प्रस्ताव गरेको छ । भूकम्प पीडितलाई वितरण गर्न नसकेपछि अहिले यी पाता बाढीपीडितका साथै सरकारी आवास र भवन पुनर्निर्माणमा उपयोग गर्न सकिने ट्रेडिङको भनाइ छ । तर, त्यसबारे गरिएको पत्राचारको जवाफ मन्त्रालयहरुले अझै दिएको छैन् ।
उक्त जस्तापाता बाढी पीडितलाई वितरण गर्नेबारे सामान्य छलफल मात्र भएको बताईएको छ । ठोस निर्णय भइनसकेको आपूर्ति मन्त्रालयले जनाएको छ । दुई वर्षअघि महाभूकम्पबाट पीडित परिवारलाई उपलब्ध गराउन सरकारले भारतको जिन्दल कम्पनीबाट ५० हजार बण्डल जस्तापात खरिद गरेको थियो । २२ जेठ ०७२ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार साल्ट ट्रेडिङमार्फत् भूकम्प पीडित परिवारलाई वितरण गर्ने सरकारी योजना थियो । त्यसका लागि भन्सार छुट पनि पनि दिइएको थियो ।
आपूर्ति मन्त्रालयको निर्देशनमा साल्ट ट्रेडिङले ग्लोबल टेन्डरमार्फत् २६ करोड रुपैयाँमा उक्त जस्तापाता खरिद गरेको थियो । तर, त्यो न भूकम्प पीडितले पाए, न त अहिले बाढी पीडितले नै पाएका छन । पाँच हजार थान त्रिपाल पनि साल्ट ट्रेडिङको काठमाडौंस्थित गोदाममा अलपत्र छन् । बाढी पीडित परिवारले त्रिपालसम्म पाएका छैनन् । सरकारले सहजीकरण नगरिदिँदा साल्ट ट्रेडिङले भूकम्प पीडित परिवारसम्म जस्तापाता पु¥याउन नसकेको हो ।
वितरणमा सहजीकरणका लागि पटकपटक आपूर्ति मन्त्रालयमार्फत् अर्थ मन्त्रालयलाई आग्रह गरेको भएपनि पाल वितरणका लागी अझै कुनै प्रयास हुन नसकेको साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले बताए । केही समयअघि अर्थ मन्त्रालयले ती जस्तापाता बिक्रीका लागि स्वीकृति दिएको थियो । तर, हालसम्मको व्याज, गोदाम भाडालगायत जोड्दा अहिलेको बजार मूल्यमा बिक्री गर्न नसकिने साल्ट ट्रेडिङले जानकारी दिएको छ । यसैलेपनि यी जस्तापात अलपत्र अबस्थामा रहेका छन् ।