भक्तपुरमा आजबाट स्वास्थ्य विमा कार्यक्रम अन्तर्गतको स्वास्थ्य सेवा सुरु
भक्तपुर, १ भदौ । भक्तपुरमा आजबाट स्वास्थ्य विमा कार्यक्रम अन्तर्गतको स्वास्थ्य सेवा सुरु भएको छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत भक्तपुरमा असार १ गतेबाट स्वास्थ्य वीमा गरेका परिवारले आजवाट तोकिएको स्वास्थ्य संस्थाबाट ५० हजार रुपैयाँसम्म निःशुल्क सेवा पाउने भएको हो ।
भक्तपुरमा स्वास्थ्य विमा गरेका १५ जनाले आजबाट विभिन्न स्वास्थ्य संस्थावाट निःशुल्क उपचार सेवा लिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ ।
समितिले आज पत्रकार सम्मेलन गरि भक्तपुरलगायत अन्य ६ जिल्लाहरु पनि आजबाट स्वास्थ्य सेवा सुरु भएको जानकारी दिएको छ । भक्तपुरमा ३ हजार ३ सय ४५ परिवारका १३ हजार ४ सय ७० सदस्यले स्वास्थ्य विमा गरिसकेको समितिले जनाकारी दिएको छ । बीमा दर्ता सहयोगीको लागि भक्तपुरमा हाल ६७ जना संग्लन रहेका छन् ।
भक्तपुरमा प्रथम सेवा प्रदायकमा दधिकोट, चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र, भक्तपुर अस्पताल, कोरिया नेपाल मैत्री अस्पताल र जनस्वास्थ्य सेवा केन्द्र च्यामासिंह रहेका छन् । भक्तपुरमा रेफरल सेन्टर अन्तर्गत मानव अंग प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताल रहेको छ ।
सरकारले गुणस्तरीय स्वास्थ्य सेवा सवै नागरिकलाई उपलव्ध गराउने र आर्थिक जोखिम कम गर्न गत वर्षको चैत २५ गते कैलाली जिल्लाबाट सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सुरु गरेको थियो ।