राजपा नेताहरु बालुवाटारमा, संशोधन अघि बढाउन तयार

भक्तपुर न्यूज

२७ साउन २०७४ ५:००

राजपा नेताहरु बालुवाटारमा, संशोधन अघि बढाउन तयार

काठमाडौं, २७ साउन । राष्ट्रिय जनता पार्टी संविधान संशोधन विधेयक अघि बढाउन तयार भएको छ । राजपाका शीर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संशोधन विधेयक निर्णयार्थ पेश गर्नआग्रह गरेका छन ।

बिहीबार अबेर राजपा नेताहरु र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको थियो । बिमस्टेक बैठकमा सहभागी हुन काठमाडौं आएकी स्वराजले राजपाका अध्यक्ष मण्डलका शीर्ष छ नेतासँग सामुहिक छलफल गरेका थिइन् ।

त्यो भेटको भोलिपल्टै राजपाका शीर्ष नेताहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् । यद्यपि यो भेट पूर्व निर्धारित भएको नेताहरु बताउँछन् । प्रधानमन्त्री देउवालाई भेट्नु अघि राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भने, ‘संविधान संशोधन प्रक्रिया अघि बढाउन भन्छौं ।’

बिमस्टेक बैठकमा भाग लिन बिहीबार मात्र काठमाडौं आएकी भारतीय विदेशमन्त्री स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरिसकेकी थिइन् । त्यो भेटमा संविधान संशोधन, आसन्न चुनाव लगायतका विषयमा कुराकानी भएको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले भारत भ्रमणपछि संशोधन अघि बढाउने संकेत दिएका थिए, जुन कुरा स्वराजले राजपा नेताहरुसँग पनि शेयर गरिन् । तर, राजपा नेताहरुले भने तत्काल संशोधन अघि नबढाए चुनावमा जान गाह्रो हुन बताएका छन् । प्रधानमन्त्री भारतबाट फर्किएपछि संशोधन अघि बढाउँदा चुनावको तयारीका लागि आफूले समय नै नपाउने उनीहरुको तर्क थियो ।

राजपा नेता राजकिशोरले भने भारतीय विदेशमन्त्री स्वराजसँग सामान्य कुराकानी भएको बताए । ‘अहिलेको राजनीतिक परिस्थितिबारे कुराकानी भयो’ उनले भने । चुनावबारे केही कुराकानी भयो भन्ने प्रश्नमा उनले भने, ‘जे निर्णय लिने तपाईहरु लिनुस् । आफ्नो हित हेरेर निर्णय लिनुहोला भन्ने उहाँको कुरा थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *