त्रिविका सबै आंगिक क्याम्पसहरुमा तालाबन्दी
काठमाडौं, २६ साउन । विगत तीन महिनादेखि आन्दोलनरत आंशिक प्राध्यापकहरुले आजबाट त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पसहरुमा तालाबन्दी गरेका छन् । आंशिक सेवालाई खारेज गर्न र करार सेवामा नियुक्त गर्न माग गर्दै उनीहरुले तालबन्दी गरेका हुन् ।
आंशिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्माले त्रिभुवन विश्वविद्यालयका सबै ६० वटै आंगिक क्याम्पसका प्रमुख, लेखा शाखा र प्रशासन शाखामा बिहान ८ बजे नै तालाबन्दी गरिएको अनलाइनखबरलाई बताए । ‘तालाबन्दी गर्न हाम्रो मोबाइल टोली बिहानै मोटरसाइकल लिएर क्याम्पस क्याम्पसमा पुगेको छ । टोलीले बिहान ८ बजे नै ताला लगाएको छ,’ शर्माले भने ।
माग पूरा गराउन सरकारलाई दबाव दिने उद्देश्यले आंशिक प्राध्यापकहरुले गत वैशाख १ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गरेका थिए । हाल त्रिवि कीर्तिपुरको गेट अगाडि उनीहरु अनसन बसेको आज १८ दिन पुगिसकेको छ । सरकारले माग सम्बोधनमा चासो नदेखाएको भन्दै आंशिक प्राध्यापकहरुले आजैबाट पठन पाठन पनि बहिस्कार गरेका छन् ।