प्रदेश र केन्द्रको निर्वाचन एकैपटक गर्न तयारी
काठमाडौं २५ साउन । प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव एकैपटक गर्न निर्वाचन आयोग तयारी मा लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुवै निर्वाचन एकसाथ गर्ने बताएपछि प्रमुख आयुक्त अयोधिप्रसाद यादवले एकैपटक निर्वाचन गर्न संवैधानिक अड्चन हुने प्रतिक्रिया दिएका थिए।
एकैपटक दुवै निर्वाचन गराउन नसकिने उनको भनाइ थियो। तर, साढे पाँच महिनाभन्दा कम समयमा दुई वटा निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यताका कारण आयोग दुवै निर्वाचन एकैपटक गराउन तयार भएको हो । प्रमुख आयुक्त यादवले यस विषयमा अझै आयोगभित्र छलफल भइरहेको प्रतिकृया दिएका छन्। त्यस्तै एकैपटक दुवै निर्वाचन गर्नुपर्ने विषयमा छलफल भइरहेको आयुक्त कार्यालयले जानकारी दिएको छ । मौसमका कारण मंसिर पहिलो सातासम्ममा प्रतिनिधि सभाको निर्वाचन सक्नु पर्ने भएकाले अब दुई चरणको निर्वाचन गर्न कठीन रहेको जनाइएको छ ।
अब हामीसँग तीन महिना समय छ, ‘यसबीचमा झन्डै एकमहिना त चाडपर्वमा जान्छ। यसरी करिब दुई महिना समय हामीसँग छ। निर्वाचनका लागि यो अत्यन्तै छोटो समय हो। यसैकारण सरकारलाई चाँडै मिति तोक्न आयोगले आग्रह गरेको छ ।
दुई तहको निर्वाचन एकैपटक गर्न संवैधानिक अड्चन नरहेको कार्यालयले जनाएको छ । ‘पहिले प्रदेशको र त्यसपछि संघीय प्रतिनिधि सभाको निर्वाचन गर्ने भन्ने व्यवस्था संविधानमा छ, ‘तर एकैपटक गर्नलाई बाधा पुर्याउने व्यवस्था छैन। तर, यसबारे आयोगमा कुनै औपचारिक निर्णय नभएको कार्यालयले जानकारी दिएको छ ।