औद्योगिक क्षेत्रमा लोडसेडिङ हुँदैन् : उर्जामन्त्री शाही
काठमाडौं, २५ साउन । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ हुन नदिने दावी गरेका छन् । मन्त्री शाहीले औद्योगिक क्षेत्रमा समेत लोडसेडिङ नहुने गरी आफूले योजना बनाएको जानकारी दिए ।
उनले औद्योगिक क्षेत्रको माग अनुसार विद्युत वितरण गर्न कतैबाट पनि अवरोध गर्न नहुनेमा पनि जोड दिए । मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरी मन्त्री शाहीले देशका मुख्य–मुख्य सहरमा लोडसेडिङ मुक्त भएको स्मरण गराउँदै त्यो क्रमलाई निरन्तरता दिने पनि उल्लेख गरे ।
मन्त्री शाहीले वैदेशिक लगानी नभित्र्याई ठूला जलविद्युत परियोजना सम्पन्न गर्न नसकिने पनि स्पष्ट पारे । उनले नेपालको जलविद्युत क्षेत्रको विकासका लागि वैदेशिक लगानी अत्यावश्यक रहेको पनि उल्लेख गरे ।
मन्त्री शाहीले नेपालको आन्तरिक लगानीबाट साना तथा मझौला आकारको जलविद्युत आयोजना निर्माण कार्य मात्रै सम्पन्न गर्न सकिने पनि बताए । यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले उज्यालो नेपाल अभियान अन्तर्गत जनताकै लगानीबाट ऊर्जा संकट समाधान गर्न सकिने धारणा अघि सारेको थियो ।