चिकित्सा शिक्षा विधेयक र मनमोहन कलेजको कनेक्सन

भक्तपुर न्यूज

१७ साउन २०७४ २:४८

चिकित्सा शिक्षा विधेयक र मनमोहन कलेजको कनेक्सन

काठमाडौं, १७ साउन । डाक्टर गोविन्द केसीले आठौं चरणको अनसनमै आफूले दिएको सुझाव समेटेर राष्ट्रिय चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने माग गरेका थिए । त्यही माग लिएर डा.केसी अहिले ११ औं पटक अनसन बसेको पनि आठ दिन बित्यो । यसबीचमा तीन वटा सरकार बने । तर, उक्त विधेयक संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिमा थन्किएर बसेको छ ।

जब(जब डा केसी अनसन बस्छन्, तब समितिको सक्रियता पनि बढ्छ । तर, एउटा सम्झौतामा पुगेर अनसन तोडेसँगै समितिको सक्रियता हराउँछ । अहिले फेरि समितिले विधेयकमाथि छलफल थालेको छ । तर, यो सहजै पारित हुने अवस्था नरहेको समिति सदस्यहरू नै स्वीकार्छन् । त्यसो भए कहिले पारित होला विधेयक यसको जवाफ खोज्न डा केसी र सरकारबीच आठौ अनसनका क्रममा १० साउन ०७३ मा भएको सहमति केलाउनु पर्छ ।

त्यतिबेला नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडद्वारा प्रस्तावित स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको स्वयम्भूस्थित अस्पताल र दहचोकस्थित बेसिक साइन्स भवन मनमोहन अधिकारीका नाममा सञ्चालित हुने गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले खरिद गर्ने सहमति भएको थियो । चिकित्सा शिक्षा ऐन सोही अस्पतालसँग जोडिएको छ । र, उक्त विषय टुँगोमा नपुगेसम्म उक्त विधेयक पारित हुने सम्भावना देखिँदैन । किनकि, चिकित्सा शिक्षा विधेयकले १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न रोक्ने कि नरोक्ने भन्ने निर्क्योल गर्नेछ ।

समितिमा विचाराधीन विधेयकमाथि २७ वटा संशोधन परेका छन्, तीमध्ये अधिकांश मेडिकल कलेज सञ्चालककै भावनाअनुसारका छन् । कतिसम्म भने आसय पत्र लिएका मेडिकल कलेजहरूले केही सांसदलाई प्रयोग गर्न खोजेका छन् । तर, उनीहरूको प्रयास सार्थक हुने सम्भावना कमजोर देखिन्छ ।

मनमोहन मेडिकल कलेजको विषय समितिले सहजै पन्छाउन सक्ने अवस्था पनि देखिँदैन । समिति सभापति रञ्जु झा आफैं एमाले सांसद हुन् । मनमोहन कलेजमा प्रत्यक्ष संलग्न सांसदहरू राजेन्द्र पाण्डे र वंशिधर मिश्र पनि सोही समितिका सदस्य छन् । र, उनीहरूले संशोधन पनि हालेका छन् । मनमोहन अधिकारीका नाममा मेडिकल कलेज खोलेरै छाड्ने उनीहरूको चाहना कतै छिपेको छैन । उनीहरूको त्यस चाहनालाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको मोडलमा सार्थकता दिने प्रयत्न पनि नभएको होइन । यद्यपि, डा। केसीसँग भएको सहमतिअनुसार मनमोहन कलेजको विधेयक निवर्तमान स्वास्थ्यमन्त्री गगन थापाले फिर्ता लिइसकेका छन् ।

यदि चिकित्सा शिक्षा विधेयक डा। केसीले चाहेजसरी नै पारित भए उक्त कलेज खोल्ने बाटो सधैंका लागि बन्द हुनेछ । ‘त्यसैले जबसम्म मनमोहनलाई वीर अस्पतालस्थित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले खरिद गरेर सल्टाउँदैन, तबसम्म चिकित्सा शिक्षा विधेयक पारित हुने सम्भावना देखिँदैन,’ समिति निकटस्रोतले अनलाइनखबरसँग भन्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *