महानगरको स्वास्थ्य सेवा स्थगित

भक्तपुर न्यूज

१६ साउन २०७४ ७:२७

महानगरको स्वास्थ्य सेवा स्थगित

काठमाडौं, १६ साउन । स्वास्थ्य मन्त्रालयबाट खटाइएका चिकित्सकको काज फिर्ता भएपछि काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा दिँदै आएको स्वास्थ्य सेवा स्थगित भएको छ । महानगरभित्रका कुल ५९६ जना ज्येष्ठ नागरिकमध्ये हालसम्म ३५० जना ज्येष्ठ नागरिकलाई मात्र स्वास्थ्य सेवा दिएको थियो ।

गत असार ६ गतेको महानगरको दोस्रो कार्यपालिका बैठकले स्वास्थ्य सेवा दिनेसम्बन्धी निर्णय गरी गत असार १५ गते उक्त अभियान शुरु गरेको थियो । अभियान शुरु गर्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नियमितरुपमा महानगरका ज्येष्ठ नागरिकले उपचार पाउने घोषणा गरेका थिए ।

मन्त्रालयबाट चिकित्सक, स्टाफ नर्स, अनमी र अहेव गरी करिब एकसय जनाको टोली आए पनि गत असार मसान्तबाट काज अवधि सकिएकाले हाल सेवा स्थगित गरिएको कामपाका सहप्रवक्ता नवराज ढकालले बताए । कामपाले वीर अस्पताल र शिक्षक अस्पतालसँग समन्वय गरिरहेकाले आगामी १० दिनभित्रमा पुनः काम सेवा शुरु गरिने उनले बताए ।

काठमाडौं महानगरमा बसोबास गर्ने कुनै पनि ज्येष्ठ नागरिकले रकम अभावमा रोग लुकाएर बस्नु नपरोस् भनेर कामपाले सेवा शुरु गरेको थियो । यो पुनः सञ्चालन हुने कामपाको जनस्वास्थ्य महाशाखा प्रमुख हरि श्रेष्ठले बताए । यस अभियानमा पहिलोपटक सम्पूर्ण ज्येष्ठ नागरिकको आधारभूत स्वास्थ्य अवस्था जाँच गर्दै तथ्यांक संकलन गरिनेछ ।

त्यससँगै ज्येष्ठ नागरिकको रक्तचाप, अक्सिजनको मात्रासँगै आधारभूत स्वास्थ्य जाँच गर्ने र प्रत्येक चार चार महिनामा नियमितरुपमा पुनः चेक जाँच गर्नेछ । महानगरको ३२ वटै वडालाई आठवटा क्षेत्रमा विभाजन गरी उक्त सेवा प्रदान गरिएको थियो । प्रत्येक क्षेत्रमा चारजनाको दरले जनशक्ति परिचालन गर्दा दैनिक ३२ जना स्वास्थ्यकर्मी परिचालित हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *